बुटवल–बुटवलमा उपचार गराईरहेका कपिलवस्तुकी एकजना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।
कपिलवस्तु वाणगंगा ११ वनगाईकी ७० वर्षीया महिलाको बेलुका साढे ५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
असोज ५ गते अस्पतालमा भर्ना भएकी उनमा मिर्गौलाको समस्या थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।
आजै बिहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका २ जना संक्रमितको मृत्यु भएको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष र नवलपरासी रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनीहरु दुवैजनालाई ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो। असोज १ गते अस्पतालमा भर्ना भएका कपिलवस्तुका पुरुषको आज बिहीबार बिहान ७ बजे मृत्यु भएको हो। उनमा मधुमेह र मिर्गौलाको समस्या थियो।
नवलपरासी रामग्रामका पुरुष भदौ २७ गते अस्पतालमा भर्ना भएका थिए। उनमा कलेजोको समस्या थियो। उनको आज बिहीबार बिहान ४ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए।