काठमाडौं-चाडपर्वमा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सजग रहन सुझाव दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण पनि बढ्दै गएको र चाडपर्व पनि नजिकिदै गरेको अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।
‘अब छिट्टै नै दशैँ पनि नजिकिदै छ । हामी विभिन्न शहर र घना बस्तिबाट आफ्ना गाउँमा आफ्ना बुबा आमा, वृद्ध हजुरबुबा हजुरआमासँग आर्शिवाद लिन जाने क्रममा कतै कोरोना कोसेली त बोकेर जाँदै छैनौं भनेर सोच्ने बेला आएको छ,’ डा गौतमलले भने, ‘अर्को कुरा कोरोना संक्रमण बढ्दै गएको र दशैँ पनि नजिकिदै गएको अवस्थामा कोरोनाबाट आफु र आफ्ना परिवारलाई कसरी बचाउने भन्ने दायित्व छ।’
उनले काठमाडौँ लगायतका घना बस्तीहरुमा जनस्वास्थ्यको मापदण्ड पालना नहुँदा कोरोना संक्रमण बढ्दै गएको पनि बताए।
भिडभाड बढी हुने स्थानमा कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै उनले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न सबैलाई आग्रह गरे।
सामाजिक र आर्थिक क्षेत्रलाई परेको असरबारे ध्यानमा राखेर काममा केन्द्रित हुँदै गर्दा धेरैले कोरोनालाई विर्सिएर जनस्वास्थ्यको मापदण्ड पालना गर्न हेलचेक्याइ भएको उनको भनाइ छ।
डा गौतमले कोरोना संक्रमण केही होइन भनेर सोच्नु पनि अर्को ठूलो भ्रम भएको र त्यसले आफु र आफ्नो परिवारलाई असर पर्ने बताए।
डा गौतमले परिवारका वयस्क व्यक्तिले घरमा पुर्याउने संक्रमण घरमै रहेका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सर्ने र त्यसबाट उनीहरुलााई बचाउन ठूलो चुनौती भएको बताए।
‘हामी कामकाजी युवाहरु घरबाट काममा निस्किन्छौं, यदी मैले सतर्कता नअपनाए, मेरो परिवारलाई कोरोना संक्रमण सर्ने कारण म नै हुनसक्छु भन्ने कुरा सदैब दिमागमा राख्नुपर्छ,’ डा गौतमले भने, ‘युवाहरुमा कोरोनाका संक्रमणका लक्षणहरु नदेखिए पनि उहाँहरुले परिवारका अन्य सदस्यहरुलाई संक्रमण सार्न सक्नुहुन्छ।’
डा गौतमलले लक्षणसहित संक्रमित बढ्दै गएको समयमा सीमित स्रोत साधन भएकाले नेपालमा संक्रमितको व्यवस्थापन र उपचारमा ठूलो चुनौती रहेको पनि बताए। उनले कोरोना संक्रमित भएर पछुताउनु भन्दा कोरोना संक्रमण हुनै नदिन सचेत हुनुपर्ने बताए।
डा गौतमलले कोरोना संक्रमितसँग भेटेको व्यक्तिले भेट भएको छैटौं दिनमा कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन्। उनले होम आइसोलेसनमा बस्दा संक्रमितले विशेष सावधानी अपनाएर आफ्नो सामान आफैँले सफा गर्ने, अन्य व्यक्तिको सम्पर्कमा नआउने, व्यायम गर्ने र आफुलाई रुची लागेको काम गर्न पनि आग्रह गरे।