नेपालगञ्ज–कोरोना भाइरस सङ्क्रमणका कारण नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको आईतवार बिहान मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, मधुमेहको समस्या रहेका उनको भदौ २९ गते बिहान ७ बजे स्वाव लिएर कोरोना परीक्षण गरिएको थियो।
३१ गते अपरान्ह चार बजे उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। लामो समयदेखि मधुमेह रोगबाट ग्रसित मृतक नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको प्रशासनिक कर्मचारी रहेको अस्पतालले जनाएको छ।
दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेहको समस्या देखिएपछि उनलाई भदौ ३१ गते राती ८ः २५ बजे शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।
रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए।
मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ।
बाँकेका सङ्क्रमित ३५९ जनाको विभिन्न आइसोलेसनमा उपचार भईरहेको छ।
हालसम्म १ हजार ८ सय ५ जना सङ्क्रमित भएकोमा १ हजार ४ सय ३४ जना निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।