भैरहवा–रुपन्देहीमा सोमबार ७८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। आज ४२ जना विभिन्न पालिकाका संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६३४ पुगेको छ। समुदायस्तरमा संक्रमण फैलिएपनि २ सातादेखि सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको छैन।
सोमबार साँझ साढे ४ बजेसम्म रुपन्देहीमा थप १० महिला र ३२ पुरुषमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयलाई स्वास्थ्य मन्त्रालयले लक्षण देखिएकोलाई मात्र पिसीआर स्वाब परिक्षण गर्न परिपत्र गरेकोले परिक्षणको दर पनि कम देखिएको छ।
बजार खुल्दै जाँदा भाइरसको संक्रमण बढेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ६ महिला र १७ पुरुष गरी २३ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै सिद्धार्थनगरमा १२ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, सियारीमा २ जना सैनौमना र देवदहमा १/१ जना पुरुषमा थप संक्रमण पुष्टि भएको छ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४ सय ९६ पुगेको शाहले जानकारी दिए।
कार्यालयका अनुसार हालसम्म २२ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १८४१ जना निको भएर फर्किसकेका छन् भने ६३४ जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।