बुटवल–प्रदेश ५ स्वास्थ्य निर्देशनालयले सक्रिय संक्रमितहरुको विवरण सच्याएको छ। निर्देशनालयले सार्वजनिक गरेको आइतबारको विवरण र जिल्लाले बताएको तथ्यांकमा ठूलो अन्तर देखिएपछि लुम्बिनी टाइम्सले यस बारेमा समाचार लेखेपछि विवरण सच्याएर प्रकाशित भएको छ।
निर्देशनालयका एकजना अधिकृतले जिल्लाबाट आएको तथ्यांकलाई अध्यावधिक गरेको बताए। ‘हामीले जिल्लाबाट आएको तथ्यांकलाई अध्यावधिक गरेका छौं, उनले भने–त्यसमा केही त्रुटि देखिएको रहेछ, सच्याइएको छ।’
निर्देशनालयले आइतबार सार्वजनिक गरेको कोभिड १९ को विवरण अनुसार अर्घाखाँची जिल्लामा ४५ जना सक्रिय संक्रमित रहेको सबै होम आइसोलेसनमा रहेको उल्लेख गरेको थियो।
तर अर्घाखाँचीको स्वास्थ्य कार्यालयले २६ जना आइसोलेसन सेन्टरमा रहेका र ४ जना मात्र होम आइसोलेसनमा रहेको बताएको थियो।
त्यसै गरी अन्य जिल्लामा रहेका सक्रिय संक्रमितबारे पनि निर्देशनालयको र सम्बन्धित स्वास्थ्य कार्यालयको फरक फरक संख्या देखिएको थियो।
लुम्बिनी टाइम्समा समाचार आएपछि सोमबारको तथ्यांक निर्देशनालयले सच्याएको छ। निर्देशनालयले आफ्नो कमजोरी र लापरबाहीबारे समाचार आएपछि जिल्लाका स्वास्थ्य कार्यालयका कर्मचारीले त्यस्तो जानकारीबारे प्रतिक्रिया दिएको भन्दै समाचार हटाउन लगाएको थियो।
केही स्वास्थ्य कार्यालयका कर्मचारीले लुम्बिनी टाइम्समा फोन गरेर आफुहरुलाई समस्या भएकाले समाचारबाट नाम हटाउन आग्रह गरेका थिए।
त्यसरी आफुमातहतका कार्यालयका कर्मचारीलाई प्रतिक्रिया दिएकै भरमा धम्कीको भाषा प्रयोग गर्ने निर्देशनालयले आफ्नो कमजोरी स्वीकार गरेको छ, तर उसले आफुले अघिल्लो दिन दिएको विवरणमा त्रुटि रहेको भने उल्लेख गरेको छैन।
निर्देशनालयको र स्वास्थ्य कार्यालयले बताएको सोमबारको तथ्यांक मिल्दो छ। अघिल्लो दिन अर्घाखाँचीमा ४५ जना सबै होम आइसोलेसनमा बसेको बताएको निर्देशनालयले सोमबारको तथ्यांकमा २८ जना आइसोलेसन सेन्टरमा रहेको उल्लेख गरेको छ।
रुकुम पूर्वमा आईतबार ३५ जना होम आइसोलेसनमा र १४ जना आइसोलेसन सेन्टरमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको थियो। सोमबारको विवरण अनुसार ३५ जना आइसोलेसन सेन्टरमा रहेका छन्।
त्यसै गरी आइतबारको तथ्यांकअनुसार नवलपरासीमा २ सय ८९ जना होम आइसोलेसनमा र ४ जना आइसोलेसनमा रहेको विवरण स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको थियो।
सोमबारको विवरण अनुसार २ सय १६ जना होम आइसोलेसनमा र १६ जना आइसोलेसन सेन्टरमा रहेको उल्लेख छ। अन्य जिल्लाहरुको नमिल्दो तथ्यांकलाई पनि सच्याइएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको सोमबारको विवरण अनुसार प्रदेश ५ मा हाल २ हजार ३ सय ३७ जना सक्रिय संक्रमित रहेका छन्। जस मध्ये १ हजार ३ सय ९० जना होम आइसोलेसनमा रहेका छन्।
९ सय ४७ जना संस्थागत आइसोलेसनमा छन्। हालसम्म कुल संक्रमितको संख्या १० हजार ४ सय ८६ छ। जसमध्ये ८ हजार ७८ जना निको भइसकेका छन्। ६८ जनाको मृत्यु भएको छ।
सोमबार प्रकाशित समाचार