काठमाडौं-कोरोना भाइरसविरुद्ध रुसमा बनेको खोप नेपालमा ल्याउनका लागि रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच सम्झौता भएको छ।
सम्झौताअनुसार नेपालमा २ करोड ५० लाख रुसी भ्याक्सिन 'स्पुतनिक-५' नेपाल ल्याइनेछ। ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित रहेको यो भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्नेछ।
रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो भ्याक्सिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको भनेर प्रचार गरिँदै आएको छ। तर अरु मुलुकहरुले यसमाथि प्रश्न उठाउँदै आएका छन्।
सम्झौता भएपनि यो भ्याक्सिनको सफल परीक्षण भएपछि मात्रै नेपालमा आउनेछ। नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले भने-‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सहकार्य गरी कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरेका छौं, हामी स्पुटनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेका छौं, र, नेपाल सरकारको इजाजत पर्खाइमा छौं।’
रुसी फन्डले नेपाली कम्पनीसँग भएको यो सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा पनि प्रकाशित गरेको छ। फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँगको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्या पुग्ने गरी भ्याक्सिन उपलब्ध हुने कुरा बताएको वेबसाइटमा उल्लेख छ। उनले दसकौंसम्म अध्ययन गरिएको पद्दतिबाट विकास गरिएको खोप भएका हुनाले यसको प्रभावकारितामा शंका नरहेको बताएका छन्।
यसको परीक्षण जारी रहेको र अन्तिम नतिजा ढिलोमा आगामी नोभेम्बरसम्ममा आइसक्ने उनले बताएका छन्। यो भ्याक्सिनको क्लिनिकल ट्रायलमा यतिबेला ४० हजार स्वयंसेवी सहभागी रहेको सो विवरणमा उल्लेख छ।