बुटवल-बुटवलमा उपचाररत २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। एकजनाको मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एकजनाको संक्रमण पुष्टि भएपछि उपचारकै क्रममा मृत्यु भएको हो।
उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल आएका कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएकोमा बिहीबार रिपोर्ट आएको हो।
उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका उनमा स्वासप्रश्वासको समस्या देखिएको थियो।
बुधबार दिउसो १ बजे श्वासप्रश्वासको समस्या देखिएपछि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका उनको उपचारका क्रममा बुधबार साँझ ६ बजे मृत्यु भएको थियो। रुपन्देहीमा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ।
मृत्यु हुने अर्का एकजना बुटवल उपमहानगरपालिका वडा ८ का ८० वर्षीय पुरुष हुन। उनको बुधबार राति मृत्यु भएको हो। असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए।
उनको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा बुधबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. गौतमले जानकारी दिए।