काठमाडौं-सरकारले सरकारी अस्पताललाई धरौटी शुल्क नलिएर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्न निर्देशन दिएको छ ।
सरकारी निर्देशनअनुसार भन्दै विभिन्न सरकारी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।
उपत्यका तथा उपत्यकाबाहिर रहेका सबै सरकारी अस्पतालले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पताललाई स्पष्टीकरणसमेत सोधिएको छ ।
सरकारले फेरि आफैँ उपचार गराउन सक्नेसँग शुल्क लिन र नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि उनले बताए ।