बुटवल–बुटवलको धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा बिहिबार आइसियुमा भर्ना भएका बिरामीको संख्या १६ जना रहेको छ।
१६ वटा बेड रहेको अस्पतालको आइसियुका सबै बेड भरिएको हो। आइसियु बाहेकका जनरल आइसोलेसनतर्फ ३६ वटा बेड रहेको छ। जहाँ लक्षण देखिएका तर गम्भीर नभएका बिरामीलाई राख्ने गरिन्छ। अस्पतालहरुमा साधारण बेड भन्दा निकै कम मात्र आइसियुमा बिरामी हुने गर्दछन्।
तर अहिले बुटवलको कोरोना विशेष अस्पतालमा आइसियु भन्दा साधारण आइसोलेसनमा कम बिरामी छन्। आइसियुमा १६ जना बिरामी हुँदा जनरल आइसोलेसनमा बिहिबार १० जना मात्र संक्रमित रहेका छन्।
पछिल्लो १० दिनयता आइसियुभन्दा बाहेकका आइसोलेसन बेडमा विरामीको संख्या कमी छ।
असोज महिनामा आइसियुबाहेकको आइसोलेसन बेडमा ३० जनाको आसपासमा बिरामी हुने गरेका थिए। तर कात्र्तिक लागेपछि जनरल आइसोलेसनमा बिरामीको संख्या कम हुन थालेको हो।
सामान्य लक्षण भएकाहरुलाई पछिल्लो समय कोरोना अस्पतालमा भर्ना गर्न छोडिएको छ। अहिले आइसोलेसन बेडमा रहेका धेरैजसो आइसियुबाट सुधार भएर सारिएका बिरामीहरु रहेको कोरोना अस्पतालका वरिष्ठ कन्सल्टेण्ट डा. सुर्दशन थापाले जानकारी दिए।
‘नेपाल सरकारको निर्णयअनुसार साधारण लक्षण भएकालाई यहाँ राख्न छोड्यौं, कडा खालको निमोनिया भएकालाई मात्र आइसियुमा भर्ना गरिन्छ’–उनले भने–‘आइसियुमा सुधार भएपछि बाहिर सारिन्छ, त्यसैले जनरल आइसोलेसनमा बिरामीको संख्या कम देखिएको हो।’
त्यसबाहेक अलि सिकिस्त देखिएका र आइसियुमा राख्न नपर्ने केही बिरामी पनि जनरल आइसोलेसनमा रहेको थापाको भनाइ छ।
संक्रमण पुष्टि भएका धेरै बिरामी अहिले होम आइसोलेसनमा रहेका छन्। केही मात्र सामुदायीक आइसोलेसनमा बसेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयअनुसार बिहीबार बिहानसम्म रुपन्देहीमा १ हजार २ सय ८३ सक्रिय संक्रमित रहेका छन्।
जसमा २ सय ८ जना मात्र अस्पताल र सामुदायिक आइसोलेसनमा रहेका छन्। बाँकी १ हजार ७५ जना होम आइसोलेसनमा छन्।
विगतमा बुटवलको कोरोना विशेष अस्पतालमा लक्षण नदेखिएपनि संक्रमण पुष्टि भएका सबैलाई राख्ने गरिएको थियो।
संक्रमितको संख्या बढ्दै गएपछि स्थानिय तहहरुले पनि आफ्नै ठाउँमा सामुदायिक आइसोलेसन सञ्चालन गरे।
त्यसपछि ज्वरो, खोकी जस्ता लक्षण देखिएका बिरामीहरु मात्र कोरोना अस्पताल भर्ना हुन थाले।
लक्षण नदेखिएका सामुदायिक आइसोलेसनमै बस्थे। नेपाल सरकारले संक्रमित होम आइसोलेसनमा पनि बस्न सक्ने गरी निर्देशिका जारी गरेपछि आफ्नै घरमा छुट्टै बस्ने संक्रमितको संख्या बढ्न थाल्यो।
घरमा असहज भएमा मात्र सामुदायीक आइसोलेसनमा बसालियो। पछिल्लो समय सामान्य लक्षण देखिएका बिरामी पनि होम आइसोलेसनमै रहेकाले बुटवलको कोरोना विशेष अस्पताल गम्भीर प्रकारका बिरामी मात्र रहेका छन्।
सामान्य ज्वरो आएका संक्रमितको लागि लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमै उपचार हुने कोरोना अस्पतालका कन्सल्टेण्ट डा. सुदर्शन थापाले बताए।
‘होम आइसोलेसनमै बस्नुभएकाहरुलाई ज्वरो आयो भने प्रादेशिक अस्पतालको फिबर क्लीनीकमा जानुहुन्छ, त्यहाँ ओपीडीमा परीक्षण गराएर सामान्य रहेछ भने घरै बसेर औषधि खानुहुन्छ’–उनले भने–‘गम्भीर देखियो भने मात्र यहाँ कोरोना विशेष अस्पतालमा ल्याइन्छ।’