बुटवल-बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालका ७ जना मेडिकल अफिसर काम छाडेर हिड्दा उपचार सेवा प्रभावित भएको छ ।
जोखिम भत्ता समयमा नपाएको भन्दै उनीहरु राजीनामा दिएर हिँडेका थिए । राजीनामा दिएपछि उनीहरुको मागको विषयमा सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको थियो ।
छलफलमा मन्त्री बरालले तिहार पछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि चिकित्सकहरुले काममा फर्कन सहमति जनाएका थिए । तर अहिले सम्म पनि कोरोना अस्पताल फर्केका छैनन् ।
मेडिकल सेवा नहुँदा कन्सल्टेन्ट र नर्सिङ स्टाफहरुले मात्र हेरेका छन् । काम छाडेर हिड्दा आइसियुको उपचारमा समस्या भएको छ ।
३ महिनादेखीको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले अस्पतालमा राजीनामा बुझाएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ट डा राजेन्द्र प्रसाद खनालले तिहार पछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि काम छोडेर हिँडेको बताए ।
‘दिने भनेर मन्त्रालयले निर्णय गरिसकेको छ । तिहारको लगत्तै उहाँले पाउनुहुन्छ’-उनले भने ‘त्यति भन्दा भन्दै छोड्नुहुन्छ भने हामीले के भनौं खै ?’
खनालले संबेदनशिल ठाउँ छोडेर हिँडेर चिकित्सकहरुले गैर जिम्मेवार चरित्र प्रदर्शन गरेको बताए ।
‘एउटा सम्बेदनशिलता हुनुपथ्र्यो । बिरामीको अपरेसन गर्दा गर्दै छोडेर हिडे जस्तो भयो’-उनले भने । खनालले उनीहरु नआएपनि अस्पतालको सेवा प्रभावित हुन नदिने वैकल्पिक व्यवस्था गर्ने बताए ।
काम छोडेका मध्ये एक जना मेडिकल अफिसरले लिखित प्रतिबद्धता माग गरेको र त्यो आउने बित्तिकै काममा फर्कने बताए । उनले अस्पताल प्रसासन र मन्त्रालयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाई नभएको बताए ।