काठमाडौं-अब विदेशबाट नेपाल आउनेले अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसअघि भएका सबै व्यवस्था खारेज गर्दै अब हवाई र स्थलमार्गबाट नेपाल आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिमा राख्ने निर्णय भएको बताए।
यसका लागि कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिने पनि उनले बताए। क्वारेन्टिन बसाइको क्रममा लक्षण वा चिन्ह देखिएका व्यक्तिको मात्र परीक्षण गरिने गौतमले बताए। यसअघि पनि विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिमा राख्ने गरिएपनि पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन।
यस्तै, वैदेशिक रोजगार वा अन्य कारणले विदेश जानुपर्ने व्यक्तिको कोरोना परीक्षण सरकारले ‘ए लेभल’को मान्यता दिएका प्रयोगशालाबाट मात्र गर्नुपर्ने पनि प्रवक्ता गौतमले बताए।
नेपालमा नेगेटिभ रिपोर्ट आएर गएकाहरूको सम्बन्धित देशमा पुनः परीक्षण गर्दा पोजिटिभ देखिने गरेकाले अब ‘ए लेभल’का प्रयोगशालाको रिपोर्टलाई मात्र मान्यता दिने निर्णय गरिएको हो।
यस्तै, यसरी विदेश जानेको परीक्षण गर्दा सरकारबाट जारी परिचय मात्र हेरेर मात्र परीक्षण गर्न मन्त्रालयले भनेको छ। साथै, परीक्षण गरिएका व्यक्तिको बायोमेट्रिक विवरण राख्ने व्यवस्था मिलाउन प्रयोगशालाहरूलाई निर्देशन दिइएको छ।
यो विवरण स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उपलब्ध गराउन भनिएको छ।