कोरोनाविरुद्ध तेस्रो चरणको परीक्षण खोप लगाएका भारतको हरियाणा राज्यका गृहमन्त्री अनिल विजलाई कोरोना संक्रमण भएको छ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले आफू कोरोना पोजिटिभ भएको जानकारी दिएको भारतीय पत्रिका दैनिक भास्करले लेखेको छ।
उनले ट्विटरमा लेखेका छन्, ‘मेरो परीक्षण रिपोर्ट कोरोना पोजटिभ आयो। अहिले म सिभिल अस्पताल अम्बाला क्यान्टमा भर्ना भएको छु। मेरो नजिकको सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन सल्लाह दिन्छु।’
भारतमा गत नोभेम्बरमा सञ्चालित कोरोनाविरुद्धको खोपको तेस्रो परीक्षणमा गृहमन्त्री विज पहिलो स्वयंसेवकका रूपमा सहभागी भएका थिए।
खोपको पहिलो डोज लिएको १४ दिनपछि उनी कोरोनाबाट संक्रमित भएका हुन्। पहिलो डोज लगाएको २८ दिनपछि उनी दोस्रो डोज लिँदै थिए। तर त्यसअघि नै उनी कोरोनाबाट संक्रमित भएका हुन्।
भारत बायोटेकले कोभ्याक्सिन बनाइरहेको छ। अहिले यसको परीक्षण चलिरहेको छ। यसको तेस्रो चरणको परीक्षण नोभेम्बर २० मा सुरु भएको थियो।