बुटवल–रुपन्देहीको भैरहवामा रहेको प्रादेशिक प्रयोगशालामा कोराना संक्रमण भए नभएको जाँच गर्ने पिसीआर परिक्षणको लागि स्वाबको नमूना थुप्रो लाग्दथ्यो।
चैत्र २३ गतेबाट गहुँबाली अनुसन्धान कार्यक्रमको परिसरमा रहेको प्रयोगशालामा परीक्षण सुरु भएयता स्वाब दिएर पर्खिनेहरु समयमा रिपोर्ट नआएको भनेर आलोचना गरिरहेका हुन्थे।
कोरोना महामारीका कारण बैशाख, जेठ महिनामा भारतबाट घर फर्कनेको ओइरो लागेको थियोे। नेपाल भित्रिएर उनीहरु आ–आफ्ना स्थानिय तहमा रहेका क्वारेन्टाइनमा बसेका थिए। १४ दिन क्वारेन्टाइनमा बसेर पिसिआर परिक्षण गरी नेगेटिभ आएपछि मात्र घर जान पाउँथे। पाजेटिभ आएमा आइसोलेसनमा बस्नुपर्दथ्यो।
क्वारेन्टाइनमा मात्र सिमित देखिएको कोरोना संक्रमण साउनदेखि समुदायस्तरमै फैलियो । बुटवल सहित रुपन्देहीका विभिन्न स्थानिय तह र पहाडी जिल्लाहरुमा पनि दिनप्रतिदिन संक्रमितहरु थपिँदै गए।
भैरहवामा रहेको प्रादेशिक प्रयोगशालामा विभिन्न जिल्लाबाट आएका स्वाबहरुको थुप्रो लाग्न थाल्यो। पिसिआर परिक्षणको लागि दैनिक ८ सय सम्म स्वाबको नमुना आएको त्यतिबेला प्रयोगशाला प्रमुखको समेत जिम्मेवारी सम्हालेका स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए।
‘दिनमा ८ सय सम्म नमुना आउँथे, यहाँ परिक्षण गर्न नसकेर कतिपय नमुना राष्ट्रिय प्रयोगशाला काठमाडौ पठाउनुपरेको थियो।’–उनले भने–‘८ हजार जति नमुना त हामीले परिक्षणको लागि राष्ट्रिय प्रयोगशालामा नै पठाएका थियौं। केही चितवन र हेटौडाका प्रयोगशालामा पनि लगियो।’
भैरहवाको प्रयोगशालाले दिनमा साढे २ सय नमूना मात्र परिक्षण गर्न सक्दथ्यो। साह्रै धेरै नमूना आएको बेलामा रात दिन खटेर साढे ३ सय पनि परिक्षण गरिएको गिरीले सुनाए। साउन–भदौ महिनामा पिसिआर परिक्षणको नतिजा थाहा पाउन पनि २ हप्ता सम्म पर्खिनुपर्ने अवस्था थियो।
तर अहिले अवस्था फरक छ। हाल प्रादेशिक प्रयोगशालामा पिसिआर परिक्षणको लागि दैनिक १ सय देखि १ सय २५ नमुना मात्र आउने गरेको प्रयोगशालाका निमित्त प्रमुख रोशनलाल चौधरीले बताए। ‘अहिले धेरै कम आउन थालेको छ । स्वाबको नमुना आएको बढीमा भोली पल्ट नतिजा दिन्छौं।’–उनले भने।
गत साउन महिनाबाट बुटवलको प्रादेशिक अस्पताल र निजी क्षेत्रको नेशनल प्याथ ल्याबमा पनि पिसिआर परिक्षण सुरु भयो। दशैं अघि यी ठाउँमा शुल्क तिरेर पिसिआर परिक्षण गर्न आउनेको भिड हुन्थ्यो।
‘दिनमा साढे ३ सय सम्म स्वाबको नमुना आउँथ्यो।’ प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले भने–‘अहिले सयदेखि डेढसय सम्मको परिक्षण गरिएको छ।’
पहिले संक्रमितको सम्पर्कमा आएका धेरैले पिसिआर परिक्षण गराउने गर्दथे। तर अहिले विरामी भएर लक्षण देखिएका मात्र परिक्षणको लागि आउने गरेको डा. गौतमले बताए।
दशैं अघि बुटवलको ट्राफिक चोकमा रहेको नेशनल प्याथ ल्याबमा अहिले परिक्षण गराउनेको संख्या आधाले घटेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताए।
‘दशै अघि दैनिक ४ सय जति परिक्षण गर्न आउथे। अहिले दुई सय जति आउँछन्।’ उनले भने। कुनै बेला ठूलै हाउगुजी बनेको कोरना अहिले सामान्य ठानिएको छ। सरकारले नयाँ निर्देशिका ल्याएपछि कन्ट्रयाक्ट ट्रेसिङ हुन छाडेको छ।
परिवारमा लक्षण देखिएर कसैको पिसिआर पोजोटिभ आयो भने पनि बाँकी सदस्यले परिक्षण गर्दैनन्।
बिरामी भएका पनि कतिपयले आइसोलेसनमा बस्ने झन्झटले उपचारका अरु विधि अपनाएर परिक्षण नगर्ने गरेका छन्।
कोरोनाबाट लामो समय असामान्य बनेको जनजिवन पछिल्लो पटक सामान्य बनेको छ।
मान्छेहरु निर्धक्क घुमघाम गरेका छन्। यो मंसिरमा भएको विवाहका कार्यक्रमले पनि जनजिवन सामान्य बनेको देखिन्छ। तर लक्षण देखिँदा पनि परीक्षण नगराउनुले झनै जोखिम बढाउने स्वास्थ्यकर्मी बताउँछन्।