काठमाडौं । नेपालमा कोरोनाको नयाँ प्रकार आइसकेको हो की होइन भनेर सरकारले पत्ता लगाउने काम अगाडि बढाएको छ । कोरोनाको नयाँ प्रकार बेलायत र दक्षिण अफ्रिकामा पहिलो पल्ट देखिएको थियो । हालसम्म आधा दर्जनभन्दा धेरै देशहरुमा फेला परिसकेको बैज्ञानिकहरुले दावी गरेका छन् । केही दिन अगाडि भारतमा देखिएको भाइरसको यो नयाँ प्रकार पछिल्लो पटक लेवनानमा पनि देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले युरोपमा देखिएको कोरोनाको नयाँ प्रजाति नेपालमा पनि भित्रिएको हुनसक्ने भन्दै पत्ता लगाउन काम अघि बढाइएको जानकारी दिएका छन् । उनले त्यसका लागि बेलायतबाट आउने व्यक्तिहरूको परीक्षण गर्ने काम भइरहेको बताए । पुस ७ गतेसम्म बेलायतबाट नेपाल आउने ३ सय ७७ जना छन्।
उनीहरूको परीक्षण भइरहेको छ । कसैको पोजेटिभ देखिए नयाँ भाइरस होरहोइन भनेर पत्ता लगाउन ’जिन सिक्वेन्सिङ’ गर्छौं,’ उनले भने ।
बेलायतमा नयाँ प्रजातिको कोरोना देखा परेको पाइएपछि सरकारले पुस १ देखि ७ गतेसम्म बेलायतबाट आउने मानिसलाई अनिवार्य ’होटल क्वारेन्टिन’ मा बस्न अपिल गरेको थियो । साथै नजिकका सरकारी प्रयोगशालामा गएर परीक्षण गराउन पनि भनेको थियो ।
अब परीक्षण गराएकामध्ये पोजेटिभ आएकाहरूको ‘जिन सिक्वेन्सिङ’ गर्ने मन्त्रालयले तयारी गरेको छ । उक्त प्रविधिबाट भाइरसमा के–के फरक छ भनेर पत्ता लगाइन्छ । ‘जिन सिक्वेन्सिङ’ पिसिआर मेसिनबाटै गर्न सकिए पनि त्यसका लागि छुट्टै ‘रिएजेन्ट’ चाहिन्छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी डा. राजेशकुमार गुप्ताले अहिले ’जिन सिक्वेन्सिङ’ का लागि चाहिने ’रिएजेन्ट’ नभएको र भएको अवस्थामा यहीँको जनशक्तिले उक्त काम गर्न सक्ने बताए।
उनले अहिले बेलायतबाट आउने यात्रुहरूको परीक्षण भइरहेको र परीक्षण गरिएकामध्ये कसैमा संक्रमण देखिए मन्त्रालयको समन्वयमा ’जिन सिक्वेन्सिङ’ का लागि काम अघि बढाइने जनाए।
नेपालका प्रयोगशालाहरूले भने ’रिएजेन्ट’ आए आफैंले ’जिन सिक्वेन्सिङ’ को काम गर्न सकिने बताएका छन् । यसका लागि छुट्टै जनशक्ति नचाहिने भन्दै अहिले पिसिआर परीक्षणमै खटिएका प्राविधिकले ’जिन सिक्वेन्सिङ’ को काम पनि गर्नसक्ने उनीहरूको भनाइ छ ।
बेलायतमा देखिएको भनिएको उक्त नयाँ प्रजातिको कोरोना भाइरस पहिलेभन्दा ५६ प्रतिशत बढी संक्रामक रहेको अध्ययनहरूले जनाएको छ। अर्थात् नयाँ प्रजातिको भाइरस पहिलेको भन्दा छिटो शरीरभित्र प्रवेश गर्नसक्छ। अहिले उक्त प्रजातिको भाइरस फ्रान्स, स्पेन, क्यानाडा, जापानलगायत अन्य देशहरूमा पनि देखा पर्न थालेको छ।
यसरी पहिलो महामारी सेलाउन नपाउँदै कडा स्वभावको नयाँ प्रजातिको कोरोना देखिन थालेपछि सर्वत्र चिन्ता थपिएको छ। यसको जोखिम नेपालमा पनि औल्याउँदै सरकारले प्रारम्भिक रोकथामको काम अघि बढाएको छ।