एजेन्सी । बेलायतमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि संक्रमित भएको पुष्टि गरिएको छ । ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए ।
भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ । भारतले गत साता अन्य देशजस्तै यूकेबाट विमान सेवामार्फत् आवतजावतमा रोक लगाएको थियो। यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै संक्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् । एक करोडभन्दा धेरै कोरोना भाइरस संक्रमितहरू फेला परिसकेको भारत त्यस मामिलामा विश्वमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।
बेलायतबाट आएका यात्रुहरूलाई सबै विमानस्थलमा पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताउने गरेका छन् । तिनमा कोरोना भाइरस पुष्टि भएमा ती नमुनाहरूलाई सरकारी प्रयोगशालामा आनुवंशिक परीक्षण गरेर कुन प्रकारको हो भनेर पत्ता लगाइन्छ ।
गत एक महिनामा बेलायतबाट ३३ हजार मानिस भारत आएको आँकडा छ । तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ । क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ । बेलायतमा संक्रमण निकै तेज गतिमा फैलिरहेको भन्दै त्यहाँका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।