बुटवल । लुम्बिनी प्रदेशको रुपन्देही र बाँकेमा गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको सैनिक अस्पताल र भेरी अस्पताल तथा रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमितहरुको मृत्यु भएको हो ।
रुपन्देहीको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । मंसिर २८ गते कोरोना संक्रमण भएका ती पुरुष पुस १४ गते अस्पताल भर्ना भएकामा बुधबार बिहान सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए । संक्रमित पुरुष उच्च रक्तचापका दीर्घरोगी थिए ।
जिल्ला जनस्वास्थय कार्यालय बाँकेका अनुसार उपचारका क्रममा बाँकेका दुई जना र बर्दियाका एक जनाकाे भेरी अस्पताल र सैनिक अस्पतालमा मृत्यु भएकाे हाे । बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।
बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका-२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको हो ।
यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका-९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा बाँकेमै मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।