बुटवल । ड्युटिमा खटिइरहेका डाक्टर र प्यारामेडिक्सहरुलाई बिरामी कुर्न आएका एक व्यक्तिले हातपात गरेको ६ दिन वित्दासमेत कारवाही नभएको गुनासो गर्दै लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुले अस्पतालमै धर्ना दिएका छन् ।
गत पुस १० गते राति अस्पतालको आकस्मिक कक्षमा बिरामी कुरिरहेका बिरामीकै छोराले अस्पतालको ईर्मेजेन्सी विभागका एक जना डाक्टरलाई हातपात गरेको र अन्य तीन जना प्यारामेडिक्सहरुलाई अपशब्द बोलेको भन्दै अस्पताल प्रशासनले प्रहरी समक्ष उजुरु गरेको थियो ।
यद्यपी, उजुरी उपर प्रहरीले कुनैपनि कारवाही अगाडि नबढाएको गुनासो गर्दै आकस्मिक कक्षमा काम गर्ने डाक्टर, प्यारामेडिक्स तथा कर्मचारीहरुले आज विहानदेखि आकस्मिक कक्षमा धर्ना दिएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।
‘डाक्टर तथा कर्मचारीहरुले सुरक्षाको माग गर्दै धर्नामा बस्नुभएको हामीले बुझेका छौ ।’ प्रवक्ता डा गौतमले बताए ।
दमको जटिल समस्या देखिएका बिरामीलाई उनका छोराले अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए । जाँचपछि डाक्टरले बिरामीलाई तत्काल भेन्टिलेटर आवश्यक रहेको तर अस्पतालमा बेड खाली नभएको भनी ब्रिफिङ गर्दै गर्दा उनले हातपात गरेको अस्पतालको आरोप छ ।
‘स्वासप्रस्वासको नलीमा ट्युव राखेको थियो । बिरामीलाई भेन्टीलेटरसहितको आइसीयु आवश्यक रहेको तर यहाँ ठाउँ नरहेको भनेर डाक्टरहरुले ब्रिफिङ गर्दा गर्दै उहाँले हातपात गर्नुभएको भन्नेकुरा डाक्टरको छ ।’ डा गौतमले भने ।
डाक्टरलाई हातपात गर्ने कुरुवालाई कारबाहीको माग राख्दै अस्पताल प्रशासनमा गएको र प्रशासनले प्रहरीमा उजुरी दिएपनि कुनै कानूनी कारबाही प्रक्रिया अघि नबढ्दा आफुहरु आन्दोलित हुन बाध्य भएको अस्पतालमा धर्ना दिइरहेका स्वास्थ्यकर्मीहरुले बताए । चिकित्सक माथि हुने प्रहार आफुहरुलाई मान्य नभएको र हातपात गर्ने माथि कानूनी कारबाही हुनु पर्ने स्वास्थ्यकर्मीले माग राखेका छन् ।