देउखुरी- नागरिकलाई आयुर्वेदिक पद्दतिद्वारा उपचार सेवा दिनका लागि राप्ती र बबई गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिएको छ। आयुर्वेदिक पद्दतिद्वारा नागरिकको उपचारमा सहयोग पुराउन राप्ती गाउँपालिकाको कार्यालय मसुरिया, राप्ती आयुर्वेदिक चिकित्सालय तुल्सीपुर र प्रादेशिक आयुर्वेदिक चिकित्सालय विजौरीको पहलमा राप्ती गाउँपालिका–२ लालमटियामा कविराजसहितको सेवा केन्द्र सञ्चालनमा आएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बिरामी भइहालेमा उपचार गर्ने प्रक्रिया मानव जातिको व्यवहारलाई परिवर्तन गर्ने उद्देश्यले आयुर्वेद चिकित्साको उत्पत्ति भएकाले यसको संस्थागत विकासमा जोड दिइएको बताए। आरोग्य सेवा केन्द्रमा खासगरी पेटका रोग, कमलपित्त, नाक, कान र घाँटी, शल्य चिकित्सा, श्वासप्रश्वास, छातिसम्बन्धी रोग, पायल्स, फिस्टुला, स्त्री चिकित्सा, महिनावारी गडबडीलगायतका रोगको उपचार गरिने चिकित्सक मदनकुमार विसीले जानकारी दिए।
प्रारम्भिक चरणमा सामान्य उपचार सँगसँगै तत्कालै विशेष उपचार पद्दति शुरु गरिने चिकित्सक विसीको भनाइ छ। देउखुरी उपत्यकामा चौथो आयुर्वेदिक सेवा केन्द्र र दाङमा पहिलो नागरिक आरोग्य सेवा केन्द्रको रुपमा रहेको यस केन्द्रले राप्ती गाउँपालिका तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई समेट्ने बताइएको छ। राजपुर गाउँपालिकामा दुई र गढवा गाउँपालिकाको गोबरडिहामा एउटा कविराजसहितको आयुर्वेदिक सेवा केन्द्र सञ्चालनमा रहेको र सेवा केन्द्रको सेवा गुणस्तर सुधार गर्दै लैजाने योजनासमेत रहेको बताइएको छ।
बबई गाउँपालिका–६ कौशिलापुरमा पनि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ। यसअघि बबई गाउँपालिकामा सङ्घीय सरकारको सहयोगमा १५ श्ययाको अस्पताल हंसपुरमा गत मङ्सिर १५ गते शिलान्यास गरिएको थियो। त्यसैगरी हापुरेमा प्रदेश सरकारको सहयोगमा विशेषज्ञ स्वास्थ्य सेवासहितको अस्पताल निर्माणको तयारी भएको छ। गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले आयुर्वेद चिकित्सा पद्धतिमार्फत उपचारको थालनी गरेकामा खुशी व्यक्त गरे।
सङ्घीय र प्रदेश सरकारले अस्पताल निर्माण तथा सञ्चालनका लागि प्रयास गरेको भन्दै सेवा केन्द्रमार्फत नागरिकले फाइदा लिनुपर्ने बताए। आरोग्य सेवा केन्द्रमा दुई कविराज र एक कार्यालय सहयोगीको दरबन्दी रहेको छ। केन्द्रमार्फत ४० प्रकारका औषधि वितरण गर्ने व्यवस्था मिलाइएको छ। रासस