भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।
शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबारसम्म भारतमा ३ लाख ८१ हजार जनाले खोप लगाइसकेको जनाइएको छ ।
खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि भारतमा खोप लगाउन निश्चित सर्त तोकिएको छ । कोभ्याक्सिन खोप उत्पादन गरेको भारतको बायोटेक कम्पनीले खोप लगाउन सर्त तोकेको हो । कम्पनीले एलर्जी हुने, ज्वरो आएका, रगत पातलो बनाउने औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि खाइरहेका व्यक्तिलाई खोप नलगाउन आग्रह गरेको छ ।
यस्तै, गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि खोप नलगाउन कम्पनीले आग्रह गरेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ । कम्पनीले खोप लगाएपछि गम्भीर एलर्जी हुन सक्ने र श्वास फेर्नसमेत समेत समस्या हुन सक्ने, रिँगटा लाग्ने, कमजोर महशुस हुने जस्ता लक्षण देखिने पनि बताएको छ ।