बुटवल-यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउने गरी सरकारले तयारी थालेको छ। त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियान शुरु गर्नका लागि ७७ जिल्लामै तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
उनका अनुसार सोमबारसम्ममा सबै जिल्लामा खोप पुगिसक्नेछ। ७७ जिल्लाका करिब ३ सय अस्पतालबाट खोप दिने सरकारको तयारी छ। उनका अनुसार मन्त्रालयले यसबारे आइतबार बैठक बसेर थप निर्णय लिनेछ।
‘मन्त्रालयमा बैठक भएपछि थाहा हुन्छ,’ डा. गौतमले भने। भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा सोमबारसम्म पठाइसक्ने गौतमले जानकारी दिए।
भारतले उपहारका रुपमा पठाएको खोप बिहीबार काठमाडौं आइपुगेको थियो। भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन विमानस्थलमै खोप हस्तान्तरण गरेका थिए।
पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने मन्त्रालयले जनाएको छ। गौतमले सात प्रदेश र ७७ जिल्लामा करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने छ। डा. गौतमका अनुसार दैनिक ३० हजारलाई खोप दिइने छ।
खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ।
डा. गौतमका अनुसार दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ।
खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ।
सरकारको कुल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ।