बुटवल : सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरस्थित गणेश टोल विकास संस्थाको परिसरमा निर्माण हुन लागेको उक्त प्रयोगशाला भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिलान्यास गरे ।
भवनको शिलान्यास गदै मन्त्री वरालले सामान्य प्रयोगशाला जाँचको लागि काठमाडौँ जाने भन्झटबाट अब यस क्षेत्रका बिरामीले मुक्ति पाउने बताउँदै सबैका लागि स्वास्थ्य सेवा सर्वसुलभ गराउन प्रदेश सरकार लागि परेको बताए । उनले यस कार्यमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने सेभ द चिल्ड्रेन लाई स्वास्थ्य क्षेत्रमा आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा प्रदेश सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै जग्गा उपलब्ध गराएकोमा बुटवल उपमहानगरपालिका लाई पनि धन्यबाद दिए । मन्त्री बरालले भवन निर्माण सम्पन्न भए पश्चात कर्मचारी व्यवस्थापन लगायतका काम मन्त्रालयबाट नै गरिने पनि बताए ।
कार्यक्रममा बोल्दै बुटवल उप महानगरपालिकाका उप मेयर गोमा देवी आचार्यले कोभिड महामारीको समयमा हाम्रो घरदैलोमा यसरी प्रयोगशाला निर्माण हुनु खुशीको कुरा भएको बताइन । उनले निर्माण कम्पनीले समयमा नै भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गरिदिनका लागि आव्हान पनि गरिन । उनले समयमा नै निर्माण सम्पन्न गरेमा प्रोत्साहन स्वरुप निर्माण कम्पनीलाई उप महानगरपालिका बाट पुरस्कारको व्यवस्था गरिने बताइन् ।
सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम वहादुर सिँहले प्रदेश सरकार मन्त्री स्तरको बैठक बाट पारित भए बमोजिम बुटवल उपमहा नगरपालिका बाट प्रप्त करीब १ विगाहा जग्गामा बन्न लागेको यो जनस्वास्थ्य प्रयोगशालाको ४ तल्ले भवन आधुनिक, सुविधा सम्पन्न हुने जानकारी दिदै कोभिडका कारण कार्यमा विलम्ब भएकोमा क्षमायाचना गरे । उनले उक्त भवन यहि सेप्टेम्बर २०२१ सम्ममा सम्पन्न गर्ने गरि कार्य अगाडी बढाइने जानकारी पनि दिए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका शाखा अधिकृत सन्तोष खनालको सञ्चालन, निमित्त निर्देशक रोशनलाल चौधरीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थ,स्वास्थ्य तालिम केन्द्र निर्देशक महेश्वर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।