बुटवल - सन २०१९ को डिसेम्बर महिनामा चिनको वुहान प्रान्तमा कोरोना भाइरस संक्रमण देखियो। चिनका अरु शहर हुँदै सन २०२० काे सुरुवातमा युरोपियन मुलुकहरुमा समेत याे भाइरस फैलियो। संक्रमणका कारण चिनमा साढे चार हजार जनाको ज्यान गयो। इटालीमा फैलिएको संक्रमणले त विश्वलाई नै त्रसित बनायो। कोरोना संक्रमण रोक्न विश्वका अधिकांस देशमा लकडाउन भयो । चैत्र ११ गतेबाट नेपालमा पनि लकडाउन सुरु भयो। बैशाख महिनाबाट नेपालमै पनि कोरोना संक्रमण फैलियो।
यसै क्र्ममा विश्वमा विभिन्न देशले कोरोना संक्रमण विरुद्धको खोपको परिक्षण गरिरहेका थिए। परिक्षण गरिए पनि नेपालमा खोप आउन केही वर्ष लाग्छ हाेला भन्ने धेरैकाे अनुमान थियाे। खोपप्रति मानिसहरु आशावादी पनि थिएनन्। तर बुधबार नेपालमा पनि खोप अभियान सुरु भएको छ।
कोरोना विरुद्धको खोप सुरुमा स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुले लगाउन थालिसकेका छन्। खोप लगाएका मध्ये केहीले लुम्बिनी टाइम्ससँग कुरा गर्दै आश गरेभन्दा छिटो आफूहरुले खोप लगाउन पाएको प्रतिक्रिया दिएका छन्। उनीहरुले ढुक्क भएर खाेप लगाउन पनि आग्रह गरेका छन्।
'अझै चार-पाँच वर्ष लाग्ला भन्ने सोँचेका थियौं, तर आज लगाउन पाइयो'
डा. मोहम्मद नुरल हुदा
मेडिकल सुपरिटेण्ड, पृथ्वी चन्द्र अस्पताल परासी
खोपको सुइ लामै देखेको थिएँ। तर लगाउँदा दुखाइ महसुस भएन। २०१९ को डिसेम्बर महिनामा चिनमा कोरोना भाइरस देखीयो। पछि नेपालमा पनि भित्रियो । चिकित्सा क्षेत्रमै भएपनि कोरोना संक्रमण हाम्रो लागि पनि नयाँ अनुभव थियो। खाेपकाे चर्चा त सुनिएकाे थियाे । तर यती छिटो खोप लगाउन पाइन्छ होला भन्ने त्यती बेला लागेको थिएन। परिक्षण हुँदैछ, नेपालमा आउन अझै चार पाँच वर्ष लाग्ला भन्ने सोँचेका थियौं। तर आज लगाउन पाइयो। पहिलो चरणमा हामी फ्रन्टलाइनमा बस्नेहरुले लगाएका छौं। छिट्टै सबै नागरिकमा खोप उपलब्ध होला।
'सुरुमा डर लागे पनि अहिले राम्रै खोप हो भन्ने लागेको छ'
सृष्टी कोइराला,
नर्शिङ अधिकृत, लुम्बिनी प्रादेशिक अस्पताल
पहिलो खोप हामी स्वास्थ्यकर्मीहरुले लगाउने भनेको सुन्दा कता कता डर लागेको थियो । अरु देशमा खोपले नकारात्मक असर परेको भन्ने कुरा आएको थियो। त्यसैले खोप लगायो भने केही नराम्रो त हुँदैन भन्ने डर लाग्यो । तर हामीले लगाउने खोपले चाँही त्यस्तो नकारात्मक प्रभाव पारेको छैन भन्ने थाह पायौं। हामी स्वास्थ्यकर्मीहरु विच राम्रो र प्रभावकारी खोप हो लगाउँ भन्ने सल्लाह भयो। अरु मुलुकमा धेरैले लगाएका छन्। राम्रै भनेर हामीले पनि लगाएका हौं। सुरुमा त यती छिटो खोप आउला जस्तो लागेको थिएन। अरु देशमा लगाउन थालेपछि मात्र हाम्रोमा पनि आउला भन्ने लागेको थियो।
'टीटी खोप भन्दा कम दुखाइ महसुस भयाे'
उमेश घिमिरे
कोरोना फोकल पर्सन, स्वास्थ्य कार्यालय कपिलबस्तु
धेरै खोप त बच्चामै लगाइयो । त्यतीबेलाको याद हुने कुरा भएन । चोट पटक लाग्दा टीटी खोप लगाइन्थ्यो । कोभिड विरुद्धको अहिलेको खोप टीटी खोप भन्दा दुखाइ कम लाग्यो। चैत्र बैशाख तिर कोरोनाको महामारी हुँदा विश्वमा कोरोनाको खोप यती छिटो उत्पादन होला भन्ने लागेको थिएन । विश्व स्वास्थ्य संगठनले पनि २ वर्ष लाग्छ भनेको थियो । विश्वमा खोप अभियान सुरु भइसकेपछि चाँही नेपालमा छिट्टै खोप आउँछ भन्नेमा चाँही हामी स्वास्थ्यकर्मी ढुक्क थियौं।
'खोप लगाउन डराउन पर्दैन'
कृष्ण गोपाल चौधरी
सुचना अधिकारी, राप्ती प्रादेशिक अस्पताल
म पहिले देखी नै कोरोनासँग नजिक रहेर काम गरिरहेको छ्ु। खोपको सम्बन्धमा अनलाईन मिटिङहरुमा पनि भाग लिएँ। हामीले लगाउने खोपको बारेमा इन्टरनेटहरुमा पनि पढेको थिएँ। राम्रै खोप हो भन्ने लाग्यो। त्यसैले खासै डर लागेन। ढुक्क भएर लगाएँ। यहाँ हामी जतिले लगायौ। कसैलाई कुनै असर देखा परेको छैन, पछि पनि कु्नै असर नहोला।
यस पछिको अभियानमा कोरोना विरुद्धको खोप लगाउनेहरुले ढुक्क भएर लगाए हुन्छ डराउनुपर्दैन। कोरोना खोपको बारेमा धेरै पहिला सुनेको हो। यती छिटो आउला जस्तो लागेको थिएन । झ्याप्प खोप पनि आयो। १२ गते हामीले तालिम लियौं। ऋाज लगाउन सुरु भयो ।