बुटवल । महोत्तरीमा कोरोना विरुद्धको खोप अभियानको पहिलो दिन जम्मा ३८ जनाले मात्रै खोप लगाए । जिल्ला स्वाथ्य कार्यालयको लक्ष्य एक सय ३८ जनालाई खोप लगाइदिने थियो । जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले खोपलाई लिएर छरिएका भ्रममा परेर खोप लगाउने व्यक्तिहरुको संख्या कम भएको हो ।
अहिले नेपालमा खोप अभियान सञ्चालन भइरहेको छ । सबै प्रदेशमा भारतले दिएको ‘कोभिशिल्ड’ नामको खोप पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शववाहन र एम्बुलेन्स चालक, सुरक्षाकर्मी र अग्रपङ्तिमा रहेर काममा लाग्नुपर्ने सामाजिक अभियानकर्मीलाई दिइने छ । तर, खोपअभियानसँगै जोडिएर आएका खोपका भ्रमहरुले गर्दा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले नै खोप लगाउन डराएका छन् ।
सरकारले खोपका ‘साइड इफेक्ट’का रुपमा सामान्य ज्वरो आउने, वाकवाक लाग्ने भएपनि खोपको ठूलो असर नगर्ने बरु कोरोनासँगको रोग प्रतिरोधात्मक क्षमता बढाइदिने बताएको छ । तर, सामाजिक सञ्जालमा फैलिएका ‘अल्पज्ञान’ र ‘फेक न्युज’का कारण आम नागरिक त परै जाउन् स्वास्थ्यकर्मीमा समेत ‘असुरक्षित खोप’ भन्दै शन्देह बढिरहेको छ ।
खोपबारे सत्य के हो त ? कोरोना खोप निर्माण गरिरहेको कम्पनी ‘सिरम इन्टिच्युट अफ इण्डिया’, भारत सरकार, नेपाल सरकार र खोपबारे अध्ययन गरिरहेका शोधकर्ताहरुका निर्देशन/प्रतिवेदनका आधारमा यहाँ खोपबारे छरिएका भ्रमहरु चिर्न खोजिएको छ ।
भ्रमः खोपले बाँझोपन निम्त्याउँछ
सत्यः भारत–जहाँ सबैभन्दा ठूलो खोप अभियान सञ्चालन भइरहेको छ–का स्वास्थ्य मन्त्री डा. हर्ष बन्धनका अनुसार कोभिशिल्ड र कोभ्याक्सिन दुवै खोपले महिला र पुरुष कसैमा पनि बाँझोपन निम्त्याउने बैज्ञानिक प्रमाण फेला परेको छैन ।
भ्रमः खोपले कुरुप बनाउँछ
सत्यः दुवै किसिमका खोप बनाइरहेका सेरम इन्स्टिच्युट अफ इण्डिया र भारत बायोटेकका अनुसार खोपले मानिसका कुनै पनि अंगमा असर गर्दैन, कुरुप बनाउने कुरा त परै जावस् । बरु शरिरमा एलर्जी भएका र यसअघि आएका व्यक्तिहरुलाई भने यी दुवै कम्पनीले खोप नलगाउन शिफारिस गरेका छन् । सेरम इन्स्टिच्युट अफ इण्डियाले आफ्नो ‘फ्याक्ट शिट’मा खाना खाँदा, औषधी खाँदा वा खोप लगाउँदा यसअघि एलर्जी देखिएका कोही व्यक्ति छन् भने कोरोना विरुद्धको खोप लगाउनुपूर्व खोप लगाइदिने स्वाथ्यकर्मीहरुसँग त्यसबारेमा सल्लाह लिन भनेको छ ।
त्यस्तै भारत वायोटेकले आफ्नो फ्याक्ट शिटमा एलर्जी हुने कोही पनि व्यक्तिले खोप नलगाउन सुभाव दिएको छ ।
भारतको स्वाथ्य मन्त्रालयले पनि शरिरमा कुनैपनि किसिमका ठूला एलर्जी भएका व्यक्तिहरुले कोरोना खोप नलगाइदिन स्वास्थ्यकर्मीहरुलाई ‘मार्गदर्शन’ गरेको छ ।
नेपाल सरकारको ‘फ्याक्ट शिट’मा ‘खोपको पहिलो मात्रा लगउँदा एलर्जी भएकाहरुले पनि दोस्रो मात्रा लिनु हुँदैन’ भनेको छ ।
भ्रमः गर्भवती र स्तनपान गरिरहेका आमाहरुले खोप लगाउनु हुँदैंन, यसले बच्चालाई असर गर्छ
सत्यः भारतको स्वास्थ्य मन्त्रालेले प्रदेश सरकार र ‘युनियन टेरिटरी’हरुलाई गर्भवती महिला र स्तनपान गराइरहेका आमाहरु कुनैपनि ‘खोप ट्रायल’मा सहभागी नभएकाले उनीहरुलाई खोपले कस्तो असर गर्नसक्छ भन्ने थाहा नभएका कारण अहिलेलाई खोप नलगाउन सुझाव दिएको छ ।
नेपाल सरकारले ‘कोरोना खोपबारे सर्वसाधारणबाट आउन सक्ने सामान्य जिज्ञासाहरु’को उत्तर दिदैं ‘गर्भवती भएका महिलाहरु, स्तनपान गराइरहेका आमा हरु र तुरुन्त गर्भवती बन्ने योजनामा रहेका महिलाहरुले यो खोप लिनु हुँदैंन’ भनिएको छ।
तर, ह्याम्स अस्पतालका वरिष्ठ कन्सल्टेन्ट संक्रामक रोग विशेषज्ञ डा अनुप वास्तोला लेख्छन्–‘गर्भवती र स्तनपान गरिरहेका आमालाई खोपको ट्रायलमा समावेश गरिएको थिएन । तर खोपले गर्भवती आमा वा गभर्भको भ्रुण वा दूध खाने शिशुलाई हानि हुने कुनै बैज्ञानिक कारण कतै अध्ययनमा देखिएको छैन । पश्चिमी देशहरुमा यी समूहमा खोप लिन चाहनेहरुलाई दिइरहिएको छ र हालसम्म कुनै समस्या देखिएको रिपाोर्ट आएको छैन । त्यहाँका प्रसूती रोग र बाल रोग विशेषज्ञहरुका संस्थाहरुले पनि सबैलाई खोप लगाउन सिफारिश गरेका छन् । यो रोग लाग्यो भने कति भयावह हुनससक्छ, हामीले देखेकै छौं । गर्भवती महिलालाई संक्रमण भए कडा रोग लाग्ने जोखिम झन् बढि छ । अनि हामी स्वास्थ्यकर्मी त्यसै पनि संक्रमणको उच्च जोखिममा छौं । त्यसैले स्तनपान गर्ने वा गर्भवती महिलालाले पनि खोप लगाउनु बुद्धिमानी हुन्छ ।’
भ्रमः पहिलो डोजको खोप लगाएपछि मास्क लगाउन पर्दैन
सत्यः खोप लगाएपछि सामान्यतयाः शरिरमा ‘एण्टिबडी’बन्न दुई हप्ता लाग्छ । पहिलो खोप लगाएको चार हप्तापछि दोस्रो डोज लगाउनु पर्छ । सरकारले यी दुई खोप लगाउदा र लगाइसकेपपछि पनि केही समयसम्म मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र भिडभाडभा नजान भनेको छ ।
भ्रमः कोरोना निको भइसकेका व्यक्तिहरुले खोप लगाउन पर्दैन
सत्यः त्यसो होइन । भारतको केन्द्र सरकारले सक्रिय संक्रमितहरुलाई संक्रमण भएको चारदेखि आठ हप्तासम्म खोप नलगाउन सुझाब दिएको भएपनि कोरोना संक्रमणबाट निको भएकाहरुलाई भने अनिवार्य खोप लगाउनु पर्ने भनेको छ । नेपाल सरकारले पनि सोही कुरालाई आफ्नो ‘फ्याक्ट शिट’मा उल्लेख गरेको छ ।
भ्रमः दिर्घ रोगीहरुले खोप लगाउनु हुँदैन ।
सत्यः हुन्छ । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), सिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ। कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी छ।
भ्रमः पहिलो डोज लगाएपछि ढुक्क
सत्यः स्वास्थ्य मन्त्रालय भन्छ–‘पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ । पहिलो मात्रा लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरूः दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने व्यवहारहरूको नियमित पालना गर्नेपर्छ ।’
भ्रमः खोप सुरक्षित छैन
सत्यः नेपाल सरकारको फ्याक्ट शिटमा भनिएको छ–‘सुरक्षित छ। यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो। विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो।’