बुटवल- स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयस त्रिपाठीले अग्रपंतिमा रहेका सबैलाई खोप लगाउन आग्रह गरेका छन्। उनले नेपालमा आएको खोप अरु देशमा परिक्षण भइसकेकोले आसंका नगर्न पनि आग्रह गरे। लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रको निरिक्षण गर्दै उनले अहिलेको खोप ट्रायल अवधिको लागि नभएकाले सबैले लगाउनुपर्ने बताए।
उनले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीहरुलाई समेत आग्रह गरे। भारत सरकारले अनुदानमा दिएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई लगाइँदै छ। खोप अभियानको लागि स्थानिय तहसँग समन्वय गरेर अघि बढ्न मन्त्री त्रिपाठीले निर्देशन दिए। उनले पालिकाका सरसफाइकर्मीहरुलाई सहज रुपमा खोपकेन्द्र सम्म आउने वातावरण बनाउन प्रदेशका प्रमुख सचिव भरतमणी सुवेदीलाई आग्रह गरे।
अस्पतालको खोप केन्द्रको निरिक्षिण पछि मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीहरुसँग छलफल गरेका थिए। शुक्रबार भरतपुर, नवलपुर र परासीका अस्पतालमा खोप अभियानको निरिक्षण गरेका मन्त्री त्रिपाठी आज बुटवल आएका हुन्। बुटवल पछि उनले भैरहवामा खोप अभियानको निरिक्षण गरेका छन्।