बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले संघीय सरकारअन्तर्गत रहेको औषधी विभागलाई संघीय संरचना अनुसार प्रदेशमा पनि विस्तार गर्नुपर्ने बताएका छन् ।
बुटवलमा आयोजित नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै मन्त्री बरालले केन्द्रले औषधी विभागलाई प्रादेशिक संरचनामा विस्तार गरेमा विभागको प्रभावकारिता बढ्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै उनले स्वास्थ्य संरचना निर्माणका प्रदेश सरकारले धेरै फड्को मारेको दाबी गरे । उनले औषधोपचारका लागि काठमाडौं जानु पर्ने बाध्यतालाई अन्त्य गर्न सरकार लागि परेको उनको भनाइ थियो ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले विभागमा देखिएको जनशक्ति व्यवस्थापनको समस्यालाई आउँदो दिनमा समाधान गर्दै लैजाने प्रतिवद्धता जनाए । औषधी वयवसायीका समस्याहरुबारे विभागलाई जानकारी भएको बताउँदैं उनले व्यवसायी र सरकारबीच समन्वय गर्दै समस्याहरुलाई क्रमैसँग समाधान गर्दै जाने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक शिव ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले व्यवसायीहरुको कार्य क्षमतामा देखिएका समस्याहरुलाई निराकरण गर्न व्यवसाय सहायक तालिमको आवश्यक रहेको उनको निष्कर्ष थियो । उनले संस्था नविकरणमा देखिएका समस्या तथा विभिन्न ठाउँ र शिर्षकमा सरकारलाई तिर्नुपर्ने कर लगायतका विषयमा औषधि व्यवस्था विभागलाई समेत ध्यानाकर्षण गराएका छन् ।
तदर्थ समितिका सह–संयोजक अभय कुमार बस्नेतले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण मानिएको औषधि आपूर्तिमा योगदान पुर्याउँदै आएका व्यवसायीहरुको समस्यालाई लिएर सरकार थप गम्भीर बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघले प्रकाशित गरेको ‘सन्देश’ नामक पुस्तक विमोचन गरिएको छ ।
संघीय संचरना अनुसार संघको संरचना गठन गर्नका लागि प्रथम अधिवेशन बुटवलमा भएको हो । अधिवेशनले आगामी ३ वर्षका लागि प्रदेश स्तरको नेतृत्व चयन गर्दै छ । वि.स. २०३० असार १० गतेमा स्थापना भएको संघमा देशभर करिब २८ हजार बढी औषधि व्यवसायीहरु रहेका छन् भने लुम्बिनी प्रदेशका १२ जिल्लामा करिव ४ हजार ८ सयभन्दा धेरै व्यवसायी रहेका छन् ।