ललितपुर - पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन् ।
मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र जाँडरक्सी सेवनका कारण मानसिक समस्याका दैनिक दुई देखि तीन जना मानिस अस्पतालमा उपचारका लागि आउन थालेका निर्देशक डा रवि शाक्यले बताए । उनले भने, “यस्तो समस्या भएका बिरामीका लागि अस्पतालले ३० शैया व्यवस्था गरेको छ, यी शैया अहिले सधँैजसो भरि भराउनै हुन्छन् , सानो बच्चामा सो रोग लागेको थाहा नभएर हो या समस्या नै नभएर हो उपचारमा आएका छैनन्, भने १५ देखि ५५ वर्ष उमेर समुहका मानिस आउने क्रम बढेको छ ।”
विगत १० वर्ष अघिदेखि पाटन अस्पतालले मानसिक समस्या भएका बिरामीलाई उपचार सेवा दिदै आएको छ । सो अस्पतालले कोरोनाका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार सेवा दिन शुरु गरेसँगै ननकोभिड बिरामी उपचार गराउन आउनेको सङ्ख्या १० देखि ३० प्रतिशतमा झरेको थियो । मङ्सिर पहिलो साताबाट अस्पतालले पूर्ववतरुपमा सबै कर्मचारी बोलाएर ननकोभिड उपचार सेवा सञ्चालन गरेसँगै ५० प्रतिशत सङ्ख्यामा बिरामी आउन थालेका अस्पतालले जनाएको छ ।
अस्पतालमा महामारी अघि दैनिक एक हजार ८०० देखि दुई हजार २०० सम्मले बहिरङ्ग सेवा लिने गरेकामा हाल लगभग एक हजारले सो सेवा लिन थालेका डा शाक्यको भनाइ छ । अस्पतालमा आँखा र मुटु रोग उपचार सेवा दिन नसक्दा यसतर्फ जोड दिनुपर्ने डा शाक्यले औंल्याए । अस्पतालमा दुई महिनाअघिदेखि ५० भन्दा कम सङ्ख्याका कोरोनाका बिरामीले उपचार सेवा लिइरहेका जनाइएको छ ।
रासस