परासी :ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले नवलपरासीको (बर्दघाट सुस्तापश्चिम) रामग्राम नगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
यस कार्यक्रमअन्तर्गत नगरका ६५ वर्षदेखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई आधारभूत तहको स्वास्थ्य सुविधा घरमै उपलब्ध गराइनेछ ।
परिवारका सदस्यको बढ्दो व्यस्त जीवनशैलीका कारण हेरचाहबाट बञ्चित एवं अर्थाभावका कारण उपचारबाट बञ्चित हुन पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै रामग्राम नगरपालिकाले यही फागुनदेखि ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालन गर्न लागेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । स्थानीय तहमार्फत सञ्चालन हुन लागेको यस किसिमको कार्यक्रम नेपालमै नयाँ र पहिलो रहेको उनले दाबी गरे ।
“परिवारका सदस्यको व्यस्तताले अधिकांश ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने समय मिलेको हुदैन, त्यसरी स्याहारसुसार नपाएका ज्येष्ठ नागरिकको पहिलो प्राथमिकता भनेको स्वस्थ जीवन नै हो, सङ्घीयता र स्थानीय सरकारलाई घरदैलोमै अनुभूति गर्ने गरी ज्येष्ठ नागरिकको स्वास्थ्यलाई जोड दिएर यो कार्यक्रम सञ्चालन गर्न लागेका हौँ”, उनले भने ।
चौरासी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्ष्य गरी लुम्बिनी प्रदेश सरकारले यस किसिमको कार्यक्रम सञ्चालन गरिरहेकाले ६५ देखि ८४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई लक्ष्य गरी नगरपालिकाले यो कार्यक्रम सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ । रामग्राम नगरपालिकाभित्र एक हजार ४५७ पुरुष र एक हजार ३५० महिला गरी दुई हजार ८०७ जना ६५ देखि ८४ वर्षभित्रका ज्येष्ठ नागरिक रहेको तथ्याङ्क छ ।
लक्षित ज्येष्ठ नागरिकलाई महिनाको एकपटक स्वास्थ्यकर्मीले उनीहरुको घरमै पुगेर आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउनेछन्, भने दीर्घरोगीलाई आवश्यक परामर्श तथा जटिल प्रकारको बिरामी भए सम्बन्धित अस्पतालमा सिफारिसका लागि सुझाव दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए । “विशेषगरी अर्थाभावका कारण उपचार पाउन नसकेका लक्षित उमेर समूहका ज्येष्ठ नागरिकका लागि यो कार्यक्रम बरदान सावित हुने अपेक्षा छ”, उनले भने । नगरपालिकाका १८ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको र आठ स्वास्थ्यचौकीसमेत रहेकाले यो कार्यक्रम निरन्तर सञ्चालन हुने उनकोे भनाइ छ । नगरपालिकाले पर्याप्त मात्रामा औषधि खरिद गर्दै आएकाले औषधिको खपत गर्न पनि यो कार्यक्रम सहयोगी हुने नगरपालिकाको विश्वास छ ।
घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने क्रममा ज्येष्ठ नागरिकलाई ३८ प्रकारका निःशुल्क औषधि उपलब्ध गराइनेछ । ३७ प्रकारका औषधि नेपाल सरकारले नै निःशुल्क उपलब्ध गराउदै आएकामा नगरपालिकाले मधुमेहको औषधि पनि थपेर निःशुल्क उपलब्ध गराउन लागेको जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिल खड्काका अनुसार ज्येष्ठ नागरिकका लागि घरमै दिइने सेवामा उच्च रक्तचाप, दम, पल्स, तापक्रम, मधुमेह, पिसाब जाँच, नसर्ने रोगको पहिचान तथा उपचारको सल्लाह दिइने, सर्ने रोगहरु क्षयरोग, कुष्ठरोग, औँलो तथा स्वास्थ्य समस्याको जाँच, क्षयरोग पहिचानका लागि खकार सङ्कलन तथा परीक्षण लगायत सेवा उपलब्ध गराइनेछ । पारिवारिक व्यस्तताले उपचार पाउन नसकिरहेका ज्येष्ठ नागरिक अब यो कार्यक्रममार्फत सहजरूपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्ने नगर उपप्रमुख रम्भा कुँवर बताउछिन् । रासस