काठमाडौँ। चिकित्सकले विरामी चेकजाँच गरेबापत लिने परामर्श शुल्क बढाइएको छ । नेपाल चिकित्सक संघ ( एनएमए) र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले चिकित्सकको नयाँ परामर्श शुल्क लागू गर्न निर्देशन दिएक हुन्।
फागुन ४ गते बसेको एनएमए र अफिनको संयुक्त बैठकका निर्णय अनुसार बुधबार एक विज्ञप्ती जारी गर्दै राष्ट्र बैकको मुद्रास्फीतिलाई आधार मानेर चिकित्सकको नयाँ परामर्श शुल्क निर्धारण गरिएको हो।
उक्त शुल्कलाई बुधबारबाटै लागू गर्न दुवै संस्थाले निर्देशन दिएका छन्।
दुई–दुई वर्षमा चिकित्सकको परामर्श शुल्क पुनरावलोकन गर्ने व्यवस्था छ। एक वर्षअघि चिकित्सक नयाँ परामर्श शुल्क सिफारिस समिति गठन भएको थियो। उक्त समितिले चिकित्सकको नयाँ परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो। तर, उक्त नयाँ शुल्क सम्बन्धि सिफारिस मन्त्रालयमा बुझाएको एक वर्षसम्म पनि समयसापेक्ष लागू नभएको भन्दै चिकित्सकसँग सम्बन्धित संस्था एनएमए र निजी अस्पतालको छाता संगठन अफिनले लागू गर्ने निर्णय गरेका हुन्।