बीबीसी । कुनैपनि भाइरल संक्रमण फैलिएसँगै सर्जिकल मास्कको प्रयोग पनि बढ्ने गरेको छ ।
के वास्तवमै ती भाइरसबाट जोगिन यी मास्क प्रभावकारी हुन्छन् त ? यसरी संक्रमणबाट जोगिन विश्वका जुनसुकै ठाउँमा मास्क लगाएर हिँड्न नै पहिलो सुझाव दिइएको हुन्छ भने धुलोधुँवा लगायत प्रदुषणबाट जोगिन पनि मास्क उपयोगी मानिन्छ ।
हाल चीनमा तीव्र रुपमा फैलिएको एक नयाँ घातक भाइरसले अन्तर्राष्ट्रिय स्तरमै चिन्ता बढाएको छ । छिमेकी देशहरुमा मात्र नभइ सो भाइरसको संक्रमण अमेरिकासम्म पुगिसकेको छ भने २५ जनाको मृत्यु भइसकेको जानकारी दिइएको छ । यस्तोमा विभिन्न मुलुकका विज्ञहरु अहिले मास्कको उपयोगीताबारे बहस गरिरहेका छन् ।
वास्तवमा भाइरसका विशेषज्ञ, भाइरोलोजिस्टहरुले हावाबाट सर्ने रोगहरुमा मास्कको उपयोगीताबारे शंका व्यक्त गर्दै आएका छन् । तर पनि मास्कले ‘ह्यान्ड–टु–माउथ ट्रान्समिसन’ बाट जोगाउनेबारे भने थुप्रै प्रमाण भेटिएका छन् । सर्जिकल मास्कहरु पहिलोपटक १८ औँ शताब्दीमा केबल अस्पतालमा प्रयोगमा आएका थिए ।
यसरी अस्पताल बाहिर सर्वसाधारणहरुले यसलाई १९१९ को खतरनाक ‘स्यानिस फ्लु’ फलिँदादेखि मात्र प्रयोग गर्न सुरु गरेका हुन् । उक्त भाइरसले त्यसबेला ५ करोड मानिसको ज्यान लिएको थियो । यसबारे सेन्ट जर्ज युनिभर्सिटी अफ लन्डनका डाक्टर डेभिड केरिङटनले बीबीसीसँग भनेका छन् , “नियमति सर्जिकल मास्कको प्रयोगले मात्र सर्वसाधारणलाई भाइरस र हावामा हुने ब्याक्टेरियाको संक्रमणबाट प्रभावकारी रुपमा बचाइराख्न सक्दैन ।
प्रायः भाइरसहरु हावाबाटै सर्ने हुँदा सर्जिकल मास्कहरु खुकुलो हुन्छन् र तिनले हावालाई प्रवेश गर्नबाट रोक्न पनि सक्दैनन् । त्यस्तै हाम्रो आँखा पनि नछोपिएको अवस्थामा हुन्छ ।”
तर फेरि यसले खोकी वा हाँक्ष्यु गर्दा सिँगान र थुकका छिटाहरुबाट भाइरसलाई सर्नबाट भने रोक्न सक्ने उनले बताए । ह्यान्ड–टु–माउथ ट्रान्समिसन विरुद्धको सुरक्षा यसैलाई भनिन्छ । २०१६ मा न्यु साउथ वेल्समा गरिएको एक अनुसन्धानका अनुसार मान्छेले एक घण्टामा कम्तीमा पनि २३ पटक आफ्नो अनुहार छुने गरेका छन् ।
यसमा मोलिक्युलार भाइरोलोजीका प्रोफेसर जोनथन बलले भनेका छन्, “अस्पताल भित्रको नियन्त्रित वातावरणमै गरिएको एक अनुसन्धानमा फेस मास्क इन्फ्लुएन्जाबाट बचाउनमा ‘रेस्पिरेटर’ जत्तिकै राम्रो प्रमाणित भएको थियो ।” रेस्पिरेटर भनेको एउटा विशेष किसिमको मास्क हो जसमा फिल्टर पनि जडान गरिएको हुन्छ र यो विशेषगरी हावामा हुन सक्ने खतरनाक कणहरुबाट हामीलाई सुरक्षित राख्न सक्ने किसिमले डिजाइन गरिएको हुन्छ ।
तर अर्कोतर्फ सार्वजानिक स्थलमा सामान्य रुपमा यसको प्रयोग गर्नुको चाहिँ कम प्रभावकारीता रहेको अध्ययनहरुले देखाएका छन् । यसबारेमा प्रोफेसर बल भन्छन्, “लामो समयसम्म मास्क लगाइरहनु आफैँमा एउटा चुनौति हो, यो कदापी सहज काम होइन ।”
क्वीन्स युनिभर्सिटी बेलफस्टका अनुसन्धानात्मक औषध सम्बन्धी डाक्टर कोनोर बामफोर्डले भनेका छन्, “मास्क भन्दा साधारण सरसफाइका तरिका आपनाउनु बढी प्रभावकारी पाइएको छ । जस्तै मुख छोपेर हाँक्ष्यु गरिसकेपछि हात धुने गर्ने, साबुन पानीले हात नधोइ कुनैपनि कुरा मुखमा नहाल्ने लगायतका साधारण बानीले कुनैपनि स्वास प्रस्वास सम्बन्धी भाइरसको जोखिमलाई सिमत गराउन मद्दत गर्दछ ।”
त्यस्तै पब्लिक हेल्थ इङ्ल्यान्डका डाक्टर जेक डनिङले भने यो विषयमा आफ्नो भनाइ राख्दै भने, “भाइरस फैलिरहेको अवस्थामा मास्क लगाउनु धेरै फाइदाकारक हुने मान्यता रहँदै आएपनि यसको वास्तविक उपयोगीता अस्पताल बाहिरको वातावरणमा प्रमाणित हुन सकेको छैन ।” यस्तोमा उनले मास्क राम्ररी लगाउनुपर्ने र नियमित बदलिरहने अनि फाल्दा पनि सुरक्षित अपनाउन सुझाव दिएका हुन् । डनिङका अनुसार स्वास्थ्यबारे गम्भीर हुनेहरुले राम्रो व्यक्तिगत हाइजिन र हातको सरसफाइमै विशेष केन्द्रित रहँदा राम्रो हुनेछ ।