भैरहवा । रुपन्देहीमा हालसम्म ११ हजार जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप लगाएका छन् । पहिलो चरणको ११ दिने अभियानबाट ३ हजार ८ सय ८६ महिला, २ हजार ९ सय ५ जना पुरुष गरि ६ हजार ७ सय ९१ जनाले र हाल चलिरहेको दोस्रो चरणको प्राथमिकतामा परेका ५ हजार ४४ जना गरी कुल ११ हजार ८ सय ३५ जनाले कोभिड विरुद्धको पहिलो डोजको खोप लगाएका हुन् ।
पहिलो चरणको खोपका लक्षित मध्ये करिब एक तिहाईले खोप नलगाएपछि आइतबारबाट थप केही दिनको लागि दोस्रो प्राथमिकतामा परेका लक्षित समूहलाई कोरोना भ्याक्सिन लगाइदैंछ ।
स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ अनुसार दोस्रो चरणमा बिहीबार सम्म ४ वटा खोप केन्द्रबाट १ हजार२ सय ५६ जना महिला र ३ हजार ७ सय ८८ जना पुरुषलाई खोप लगाइएको छ । दोस्रो चरणमा विहीबार सम्म १६९ जना स्वास्थ्यकर्मी, ७८ जना स्वास्थ्य संस्थाका कर्मचारी, २४ जना महिला स्वास्थ्य स्वंयसेविका, २ जना सरसफाई कर्मी, ५ जना एम्बुलेन्स चालक, ७ जना शव व्यवस्थापनका सुरक्षाकर्मी, ३ जना कैदी तथा सुरक्षकर्मी, ३४६ जना जनप्रतिनिधी, ७५७ जना स्थानीय तहका कर्मचारी, ११०७ जना निजामति कर्मचारी, २२४ जना जनपद प्रहरी, ४४० जना सिमा क्षेत्रका सशस्त्र प्रहरी, ९८३ जना बैक तथा वित्तिय संस्थाका कर्मचारी, ५१६ जना प्राधिकरण र संस्थानको कर्मचारी, १३२ जना न्याय सेवा समूहका कर्मचारी र २५१ जना पत्रकारलाई भ्याक्सिन लगाइएको छ । यस अघि पहिलो चरणमा ३ हजार ८ सय ८६ जना महिला र २ हजार ९ सय ५ जना पुरुषलाई पहिलो डोज दिइसकेको छ ।
नयाँ खोप भएकोले खोप लगाएपछि कुनै असर हुने हो भन्ने डरले लक्षित समूह सबै खुलेर आएका छैनन् । पहिलो चरणमा स्वास्थ्य कार्यालयले गरेको लक्ष्यको दुईतिहाईले मात्र खोप लगाएका थिए ।
हाल दोस्रो चरणमा ४ वटा खोप केन्द्रबाट खोप सेवा जारी छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट १५२८, भीम अस्पताल भैरहवाबाट ११९०, युनिभर्सल मेडिकल कलेज भैरहवाबाट १११० र आम्दा अस्पताल बुटवलबाट १२१६ जना लक्षित समूहले पहिलो खोप लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।
खोप लगाएका मध्ये पहिलो चरणमा २ जनामा सामान्य ज्वारो देखिएपनि पनि हाल सम्म कसैमा पनि जटिल खालको कुनै पनि असर देखिएको छैन । कोभिड खोपको बारेमा बाहिर मानिसमा मनोवैज्ञानीक त्रास भए पनि रुपन्देहीमा अन्य जिल्लाको तुलनामा उत्साहजनक छ । खोपको महत्व बुझेर अहिले खोप लगाउनेको संख्या बढेकै छ । पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा ८ हप्ता पुरा गरिसकेपछि १२ हप्तासम्म फेरि खोप लगाईने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा गिरीले बताए ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप कोभिशिल्ड ६ महिनामा भित्र प्रयोग गरिसक्नु पर्नेछ । सरकारको हाल उपलब्ध गराएको खोप भारत सरकारबाट अनुदानमा आएको खोप हो । चीन सरकारले पनि नेपाललाई पाँच लाख डोज कोभिड खोप दिने भएको छ । त्यस्तै नेपाल सरकारले आफै भारतसँग २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको छ ।