काठमाडौं - चीनबाट फर्किएका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई कोरोना संक्रमणको आशंका गरिएको छ ।
याेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरी उपचार गर्नेको संख्या ५ पुगेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार प्रक्रिया सुरु गरिएको छ ।
चीनबाट फर्किएका एक महिला र पुरुष तथा अमेरिकी नागरिकमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको र उपचार थालिएको अस्पतला स्रोतले जनाएको छ ।
सरुवा रोग अस्पताल टेकुमा उपचार कक्षको स्थापना समेत गरिएको छ । चीनबाट फर्केका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ ।
ती युवामा संक्रमणको पुष्टिसँगै अरु दुई जनामा पनि आशंका गरिएको थियो । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गरी सरकारले सर्तकता बढाएको जनाएको छ ।
कोरोना भाइरस श्वासप्रश्वासबाट सर्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । सुरुमा स्वाइन फ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने लक्षण देखिन सक्ने डाक्टर बासुदेव पाण्डेले बतााए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फैलनसक्ने संक्रमणतर्फ सतर्क रहेको जनाएको छ । नेपालमा एक जनामा मात्र संक्रमण पुष्टि भएको र आवश्यक सर्तकता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।
चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीन तथा अरु देशबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको पनि उनले बताए ।
संक्रमण आशंका भए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुरसहित अरु अस्पतालमा उपचारको व्यवस्था गर्ने गरी मन्त्रालयले तयारी गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।