भैरहवा–रुपन्देहीमा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका अधिकांसले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन। दोस्रो प्राथमिकतामा परेका ८ हजार ३ सय १६ लक्षित समूह मध्ये ७ हजार ५ सय ६ जना अर्थात ९० दशमलव ३० प्रतिशतले खोपको पहिलो डोज लगाएका हुन।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार हाल सम्म पहिलो चरणको पहिलो प्राथमिकतामा परेका ६ हजार ७ सय ९१ जना र दोस्रोे प्राथमिकतामा परेका ७ हजार ५ सय ६ जना गरी कुल १४ हजार २ सय ९७ जनाले कोभिड विरुद्धको पहिलो डोजको खोप लगाएका हुन।
रुपन्देहीमा पहिलो ११ दिने र दोस्रो ९ दिने अभियानबाट हाल सम्म ५ हजार ८ सय ९८ महिला र ८ हजार ३ सय ९९ जना पुरुषले विभिन्न खोप केन्द्रबाट कोभिसिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका छन।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार हाल सम्म ४१६३ जना स्वास्थ्यकर्मी, १७७० जना स्वास्थ्य संस्थाका कर्मचारी, १०७७ जना महिला स्वास्थ्य स्वंयसेविका, ११६ जना सरसफाई कर्मी, ६७ जना एम्बुलेन्स चालक, ५४ जना शव व्यवस्थापनका सुरक्षाकर्मी, १९ जना बृद्ध आश्रम तथा हेरालु रहेका छन्।
त्यस्तै ३३० जना कैदी तथा सुरक्षकर्मी, ३७६ जना जनप्रतिनिधी, ८६६ जना स्थानीय तहका कर्मचारी, १३५३ जना निजामति कर्मचारी, ५२७ जना जनपद प्रहरी, ५५७ जना सिमा क्षेत्रका सशस्त्र प्रहरी, २०३६ जना बैक तथा वित्तिय संस्थाका कर्मचारी, ५७० जना प्राधिकरण र संस्थानको कर्मचारी, १३९ जना न्याय सेवा समूहका कर्मचारी र २५७ जना पत्रकारलाई भ्याक्सिन लगाइएको छ।
नयाँ खोप भएकोले खोप लगाएपछि कुनै असर हुने डरले लक्षित समूह पहिलो चरणमा खुलेर नआएपनि दोस्रो लक्षित समूहमा उल्लेखनीय सहभागिता पाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जानकारी बताए।
दोस्रो लक्षित समूहलाई ४ वटा खोप केन्द्रबाट खोप सेवा दिइएकोमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट २२२८, भीम अस्पताल भैरहवाबाट १८३०, युनिभर्सल मेडिकल कलेज भैरहवाबाट १४४३ र आम्दा अस्पताल बुटवलबाट २००५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गिरीले बताए।
रुपन्देहीका लागि अहिले सम्म १६ सय ७१ भाइल खोप आएको छ। आएको खोप मध्ये २० दिने पहिलो र दोस्रो अभियानमा १४ सय ३८ भाइल खपत भइसकेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए। ‘हामीसँग अझै २ सय ३३ भाइल खोप मौज्दात छ, जसलाई कार्यालयको वातानुकुलित कक्षमा भण्डारण गरेका छौ ।’ उनले भने ‘मौज्दात खोप २३ गते देखि हुने दोस्रो चरणको अभियानमा प्रयोग हुनेछ ।’ पहिलो डोज लगाइसकेका दोस्रो डोजमा पनि सोही खोप सोही मात्रामा नै लगाउने भएकोले त्यसको व्यवस्थापनका लागि पनि माग पठाइसकेका कोभिड फोकल पर्सन शाहले बताए ।
पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा ८ हप्ता देखि १२ हप्तामा दोस्रो डोजको खोप लगाईने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा गिरीले बताए । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप कोभिशिल्ड ६ महिनामा भित्र प्रयोग गरिसक्नु पर्नेछ ।
दोस्रो चरणको खोप अभियान २३ गतेबाट
सरकारले फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । ५५ वर्ष उमेर माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप समुदायस्तरमै गएर दिने व्यवस्था सरकारले गर्ने जनाएको छ । साथै खोप केन्द्रहरुबाट विश्व विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई पनि खोप दिइने छ।