रसुवा : ग्रामीण बालबालिकालाई खोप लगाउन सहज पार्ने उद्देश्यले ठूलोगाउँमा खोपकेन्द्र भवन निमार्ण गरिएको छ । स्वास्थ्य संस्था जान आधा घण्टाभन्दा बढी दूरी भएको ग्रामीण बस्तीलाई खोपलगायतका सेवा घर नजिकबाटै सहज पार्ने सरकारको नीतिअनुरूप खोपकेन्द्र निमार्ण गरिएको हो ।
उत्तरगया गाउँपालिका–३ ठूलोआँगन आसपास निमार्ण गरिएको खोपकेन्द्रले मासिक ३० बालबालिकालाई खोप लगाउन सहज भएको ठूलोगाउँ स्वास्थ्य केन्द्रले जनाएको छ । भवन निमार्णको कूल लागत रु आठ लाख ३५ हजार रहेको र सोमध्ये गाउँपालिबाट रु तीन लाख एवं स्थानीय विकास पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद मोहन आर्चायले रु पाँच लाख ३५ हजार प्रदान गरेको वडा नं ३ को कार्यालयले जनाएको छ ।
भवन निमार्णका लागि आवश्यक जग्गा स्थानीय सुनिता गुरुङले निःशुल्क प्रदान गरेकोे स्वास्थ्य केन्द्रले जनाएको छ । खोपकेन्द्र भवनको गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले एक विशेष कार्यक्रम अन्तर्गत उद्घाटन गरे पश्चात नवनिर्मित भवनबाट सेवा सञ्चालन भइसकेको स्वास्थ्य केन्द्र प्रमुख कृष्ण भण्डारीले जानकारी दिए ।
रासस