बुटवल- लुम्बिनी प्रदेशका चारवटा जिल्लामा कोरोना भाइरस संक्रमणबाट सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। गुल्मी, अर्घाखाँची, रोल्पा र रुकुम पूर्व अहिले सुन्य संक्रमित जिल्ला रहेको प्रदेश स्वास्थ्य निर्देशनायले जारी गरेको विवरणमा उल्लेख छ।
लुम्बिनी प्रदेशमा आइतबार साझसम्मको विवरण अनुसार सक्रिय संक्रमितको संख्या १ सय १७ रहेको छ। आइतबार मात्र प्रदेशमा ६ जनामा संक्रमण पुष्टी भएको हो। रुपन्देहीमा ३ जना, पाल्पामा २ जना र दाङमा १ जनामा संक्रमण पुष्टी भएको थियो ।
रुपन्देहीमा सबै भन्दा बढी ३८ जना सक्रिय संक्रमित रहेका छन्। त्यसै गरी दाङमा २५, बाँकेमा २०, पाल्पामा १३, बर्दियामा १०, कपिलबस्तु र नवलपरासीमा ५–५ जना र प्युठानमा एक जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।
प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या २७ हजार ४ सय ७५ रहेको छ। जसमा २६ हजार ९ सय ४९ जना निको भइसकेका छन् भने ४ सय ६ जनाको मृत्यु भएको छ। गत साउन महिनामा लुम्बिनी प्रदेशमा ठूलो संख्यामा संक्रमितहरु थपिने गरेका थिए। पछि सरकारले कन्ट्राक्ट ट्रेसिङ गर्न छोडेपछि संक्रमण पुष्टी हुनेसको संख्या कमि हुँदै गएको हो। अर्कोतर्फ संक्रमणको प्रभाव पनि न्युन हुँदै गएको छ। मृत्युदरमा पनि निकै कमि आएको छ।