बुटवल- कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत लुम्बिनी प्रदेशमा ७५ प्रतिसतले मात्र खोप लगाएका छन्। दोस्रो चरणमा ६५ वर्ष माथिका २ लाख ६१ हजार ३ सय ४८ जनालाई खोप लगाउने लक्ष्य राखिएको भए पनि मंगलबारसम्म १ लाख ९८ हजार चार सय ९ जनाले खोप लगाएका छन्।
प्रदेशका १२ वटा जिल्ला मध्ये कोरोना विरुद्धको खोप प्रति रुपन्देही र पाल्पामा आकर्षण कम देखीएको छ। यी दुइ जिल्लामा लक्ष्यको ६० प्रतिसत भन्दा कमले मात्र खोप लगाएका छन्। रुपन्देहीमा हालसम्म ५९.४४ प्रतिसतले मात्र कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएका छन्। जिल्लामा ५३ हजार १ सय ८७ जनलाई खोप लगाउने लक्ष्य राखिएको भएपनि मंगलबारसम्म ३१ हजार ६ सय १६ जनाले मात्र खोप लगाएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ।
रुपन्देहीमा दोस्रो चरणको खोप अभियान अन्तर्गत ८ वटा स्थानिय तहमा फागनु २३ गतेदेखी २५ गते सम्म र बाँकी ८ वटामा चैत्र १ गतेदेखी ३ गतेसम्म खोप कार्यक्रम सञ्चालन भएको थियो । ३ वटा पालिकामा चार गते पनि खोप लगाउने काम भइरहेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरिले जिल्लामा सहभागीता केही कम भएको स्वीकार गरे।
उनले जिल्लाका केही पालिकामा सहभागीता कम हुँदा जिल्ला भरमा कमि आएको बताए। ‘हामीले चाहेर मात्र पनि हुँदैन, पालिकाको समन्वय पनि हुनुपर्छ।’ उनले भने ‘जहाँ जनप्रतिनिधिले अलि बढी चासो दिएका छन्। आँफैल गाडीको व्यवस्था गरेका छन्, त्यहाँ अलि बढी मात्रामा खोप लगाएका छन्। अरुमा केही कम छ।’ बुधबार एक दिन केही पालिकामा खोप अभियान थप गरेकाले खोप लगाउनेको संख्या केही बढ्न सक्ने उनले बताए।
यस्तै पाल्पामा लक्ष्यको ५६.१६ प्रतिसतले मात्र कोरोना विरुद्धको खोप लगाएका छन्। जिल्लामा १६ हजार ४ सय ४५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा मंगलबार सम्म ९ हजार २ सय ३५ जनाले खोप लगाएका छन्। पाल्पा र रुपन्देही पछि अर्घाखाँचीमा लक्ष्यको ६३ प्रतिसतले खोप लगाएका छन्।
सबै भन्दा बढी रोल्पामा ९६.०३ प्रतिसत खोप कार्यक्रममा सहभागी भएका छन्। त्यसैगरी गुल्मीमा ९५ र प्युठानमा ९३ प्रतिसतले खोप लगाएका छन्। बर्दियामा ८८ प्रतिसत, कपिलबस्तु र रुकुममा ८२ प्रतिसत, बाँकेमा ८० प्रतिसत, दाङमा ७५ प्रतिसत, नवलपरासी पश्चिममा ७३ प्रतिसतले दोस्रो चरणको अभियानमा खोप लगाएका छन्।