काठमाण्डाै – मङ्गलबार विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदै छ । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको छ । विश्वको तथ्याङ्क हेर्दा एक वर्षमा झण्डै दुई करोड मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ ।
नेपालमा महिलामा बर्सेनि दुई हजार तीन सय ३२ जनामा क्यान्सर लाग्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएकाे छ । तीमध्ये एक हजार तीन सय ६७ जनाकाे ज्यान जाने गरेकाे छ ।
नेपालमा झण्डै ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ । ८० दशमलव ९ प्रतिशत क्यान्सरका बिरामी भने अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुन्छ ।
क्यान्सरका १० हजार बिरामीको लागि कम्तीमा एउटा 'रेडिएशन थेरापी मेसिन' हुनुपर्छ तर नेपालमा पर्याप्त छैन । नेपाल जम्मा आठदेखि नौ वटा मात्रै रेडियशन मेसिनरहेकाे छ । आवश्यक मात्रामा उपकरण नहुँदा पनि क्यान्सरको उपचारमा समस्या भएको क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाईँले बताइन् ।
त्यस्तै विश्वमा बालबालिकालाई 'ब्रेन ट्युमर' धेरै देखिएको छ भने नेपालमा आँखामा लाग्ने 'रेटिनो ब्लास्ट' काे समस्या धेरै देखिने गरेको कान्तिबाल अस्पतालका डाक्टर सुधिर सापकाेटाले जानकारी दिए ।
चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सकहरु बताउँछन् । क्यान्सर लागेर ज्यान गुमाउनेमध्ये २२ प्रतिशत धुम्रपानका कारण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचबीओ) ले जनाएको छ ।
विकसित देसमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएको सङ्गठनले जनाएको छ ।
क्यान्सर भनेको के हो ?
क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ । अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा हरेक बर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार पाएका छैनन् ।
हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरूले हाम्रो शरीर बनाउँछन । जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।
क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अंगहरूमा सर्दै जान्छन् र अरू अंगहरूलाई पनि असर गर्दै जान्छ् । यसलाई फैलिएको क्यान्सर भनिन्छ ।
क्यान्सर लाग्ने कारण के के हुन् ?
सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । ती कोषहरूमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण बिभिन्न छन् । हामीलाई थाहा भएका कारणहरूमध्ये मुख्य कारण चुरोट, खैनी हो ।
नेपाली महिलाहरूमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो, जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो । बाँकी क्यान्सरका कारणहरूमा जंकफुड, विषाक्त पदार्थ हालिएका खानेकुरा, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन, वंशाणुगत कारणहरू तथा प्रदुषण हुन् । केही क्यान्सरहरूको कारण अहिलेसम्म पत्ता लागेको छैन ।
क्यान्सरका लक्षणहरू के के हुन् ?
क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन् । यस्ताखालका लक्षणहरू महिना दिनभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्ने हुन्छ । अरु लक्षणहरु यस्ता छन् :
- कमजोरी हुने र तौल घट्ने
- शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने
- छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने
- मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने
- खाना निल्दा दुख्ने र स्वर फेरिने
- सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने
- लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने
- कारण पत्ता नलागेको ज्वरो आइरहने
- दिसामा रगत देखिने हुन्छ ।
क्यान्सर लाग्नै नदिनको लागि के गर्न सकिन्छ ?
यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ :
- सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने
- पान सुपारीहरु नखाने
- अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने
- अविवाहित महिलाहरूले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने
- सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने ।
- अझै महत्वपुर्ण कुरा के छ भने अविवाहित महिलाहरूले ३ पटक ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाएमा पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सकिन्छ ।
चुरोट खैनी खाने सबैलाई क्यान्सर हुने, अनि नखानेलाई क्यान्सर नहुने हो त ?
क्यान्सर सबैलाई हुन सक्छ तर सूर्तिजन्य पदार्थ (चुरोट खैनी) खानेलाई मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । एकजना सूर्तिजन्य पदार्थ प्रयोग नगर्ने मान्छेलाई क्यान्सर हुँदा, २० जना चुरोट खैनी खानेलाई क्यान्सर भइसकेको हुन्छ ।
क्यान्सर लागे पछि के के कुरामा ध्यान दिने त ?
- तुरन्त क्यान्सर रोग विशेषज्ञसँग भेटेर सही उपचार सुरु गर्ने
- आयुर्वेदले क्यान्सर निको हुँदैन त्यसैले अन्धविश्वासमा नलाग्ने
- क्यान्सरको डाक्टरसँग बसेर उपचार र त्यसका प्रभावबारे राम्रोसँग कुरा गर्ने ।नेपालमा अहिलेसम्म क्यान्सरको अवस्था कस्तो रहेको छ त ?