बुटवल–कोरोना भाइरस जहाँबाट सुरु भएको थियो ठीक त्यहीँ नजिकैको ठाउँमा अध्ययनका लागि नेपाली विद्यार्थी गएका छन्। चिकित्सा क्षेत्रको विशेषज्ञता र थप अध्ययनका लागि वुहानमा गएका नेपाली विद्यार्थीहरु अहिले त्यहीँ रोकिएका छन्।
उनीहरुमध्ये कतिपयले पढाई सकेर सर्टिफिकटको पर्खाइमा रहेका थिए। तर, सर्टिफिकेट पाइने समयभन्दा केही दिन अघि कोरोना भाइरसको संक्रमण फैलियो। उनीहरुसहित अन्य देशका विद्यार्थीहरुलाई पनि सँगै राखेको छ। सँगै राखेकामध्ये केही देशका विद्यार्थीमा यो संक्रमण देखिएपछि नेपालीहरुमा त्रास बढ्न थालेको हो।
संक्रमण फैलिएको ठाउँमा झण्डै दुई सयजना सम्म नेपाली रहेको र तीमध्ये तीस जना चिकित्सा विषयका विद्यार्थी रहेको बताइएको छ । एकै ठाउँमा राखेको, बाहिर निस्किन डराएको र त्रासले १२ दिनदेखि सुत्नै नसकेको उनीहरुको गुनासो छ।
चिनमा अर्थोपेडिक सर्जन (हाडजोर्नी रोगको) विशेषज्ञता हासिल गर्न अध्ययनका लागि त्यहाँ पुगेका रुपन्देहीका डाक्टर विकास न्यौपानेले बिहीबार बिहान म्यासेन्जरमार्फत आफूहरु संक्रमणबाट सुरक्षित रहेको तर त्रास र डरले सुत्नै नसक्ने भएको गुनासो गरे। उनीहरु ७ जनाको अध्ययन पूरा भएर सर्टिफिकेट आउने तयारी थियो।
त्यहाँको सार्वजनिक विदा सकिएर सर्टिफिकेट निकाल्ने समय सुरु नहुँदै कोरोनाको संक्रमण फैलिएपछि कलेज, स्कुल र सार्वजनिक क्षेत्रहरुमा बिदा दिइएको छ।
हाडजोर्नी, रेडियोलोजी, डेमाटोलोजी, जनरश सर्जरी, मेडिसिन, बालरोग विशेषका विषयमा अध्ययनका लागि नेपाली विद्यार्थी त्यहाँ पुगेको न्यौपानेले बताए।
‘नेपालतिर ल्याउनै नदिने (चीनबाट ल्याउने विद्यार्थीलाई राख्ने ठाउँका बारेमा विवाद भएको बारेमा) भन्ने खबर र यतातिर (चीनमा) निरन्तर संक्रमणका खबरले साह्रै त्रसित बनाएको छ’–डाक्टर न्यौपानेले भने,–‘चौबीसै घण्टा एउटै कोठमा धेरैजना बस्नुपरेको छ, केही खाऊँ भने पनि डर नखाऊँ भनेपनि डर नै छ।’
यहाँको प्रभावित ठाउँमा चिकित्सा विषय पढ्न गएका विद्यार्थीहरुसँगै अरु विषयका विद्यार्थी, मजदुर र अन्य देशकालाई पनि राखिदिएपछि आफूहरु झन् तनावमा परेको उनीहरुको गुनासो छ।
‘तनाव बढ्दै गएर समस्यामा परेकालाई हामीहरुले नै काउन्सिलिङ गरिरहेका छौं, उनीहरु बेस्सरी आत्तिएका छन्’–डा.न्यौपानेले उल्लेख गरेका छन्। त्यहाँ नेपालीहरु राखिएको नजिकै अस्पताल रहेको र तिनै अस्पतालमा संक्रमितहरुलाई उपचार गराउने गरेकाले तनाव बढाएको उनीहरुको गुनासो छ।
उनीहरुसँगै बंगलादेश, श्रीलंका, मालदिभ्सलगायतका मुलुकका पनि विद्यार्थीहरु पनि त्यहाँ थिए।
तर, उनीहरुलाई तिनका सरकारले विमान पठाएर घर फर्काइसकेको रहेछ । नेपाल फर्किने भनेर सुरुमै फारम भरेर कुरिरहेको तर अहिले एउटामात्र कोठामा थुनिएसरह भएर बस्नुपरेको गुनासो गरेका छन्।
चीनमा डिसेम्बर ३१ मा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले दर्जन बढी मुलुकमा फैलिसकेको छ भने चीनमा मात्रै पाँच सयजनाको ज्यान गइसकेको छ । चीनमा कोरोना भाइरसबाट २४ हजार ३२४ जना संक्रमित भइसकेका छन्।
दुई हजार आठसयजनाको अवस्था गम्भीर छ। २३ हजार आठ सय ९० जना स्क्रिनिङका लागि आइसोलेनमा रहेको त्यहाँ (वुहानमा) रहेका मेडिकल रिसर्चर डा.रमेश आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। कोरोनाबाट चीनभर ४० हजार जना प्रभावित भएको अनुमान छ। तीमध्ये १५ सयदेखि तीन हजारजनासम्म मर्न सक्ने विज्ञहरुले बताएका छन् । कोरोना भाइरसको उद्गम थलो भएकाले वुहानमा अहिले सार्वजनिक यातायात ठप्प छ। जनवरी २३ देखि यहाँ ‘सटडाउन’ भएको हो।
आतंकित नबनौं तर सर्तकता अपनाऔं
जनस्वास्थ्यका वैज्ञानिकहरुले कोरोनाको संक्रमण छिटो सरिरहे पनि मृत्यु नै निम्त्याउने दर अति कम रहेको बताएका छन् । रोगले मृत्यु निम्त्याउने क्षमता सार्स र मेर्सभन्दा निकै कम देखिएको उल्लेख गर्दै विज्ञहरुले नआत्तिन आग्रह गरेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालै जारी गरेको प्रेस विज्ञप्तिमा पनि रोग लागेका र मृत्यु भएकाको अनुपात ४ प्रतिशत भएको उल्लेख थियो। डब्लूएचओका संगठनकाअनुसार, यसअघि सार्स र मेर्समा देखिएको मृत्युको अनुपात क्रमशः १५ प्रतिशत र करिब ४० प्रतिशत थियो।
यसैगरी, इन्फ्लुएन्जा ए, एच ५ एन १ (एभियन फ्लू) मा यो अनुपात करिब ६५ प्रतिशत थियो भने इन्फ्लुयन्जा ए, एच १ एन १ मा एक प्रतिशतभन्दा पनि कम। यो तथ्याकंले पनि अन्य दीर्घरोग नबोकेका मानिसहरु कोरोनाबाट धेरै डराउनु नपर्ने देखाउँछ।
के–को छन् त्यहाँँ
डा.विकास न्यौपाने, रुपन्देही, रोशन कुवँर काठमाण्डौ, गौरव पाण्डेय काठमाण्डौ, अमित शर्मा चितवन, जीतसिंह भण्डारी काठमाण्डौ, प्रकाश कार्की कास्की, श्रवण श्रेष्ठ काठमाण्डौ, सुदीप राउत चितवन, दृष्टि पौडेल रुपन्देही, रोजी यादव बाँके, आयुष लामिछाने काठमाडौं, धिरज महरा धनगढी कैलाली, मिथिलेस चौधरी जनकपुर, अमित श्रीवास्तव काठमाण्डौ, राजिव कोइराला झापा र प्रिन्स रौनियार काठमाण्डौं रहेका छन् ।
चीनबाट फर्काइएकालाई चार स्थानमा व्यवस्थापन गर्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्री तथा मन्त्रालयका उच्च अधिकारीहरुलाई चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई स्वदेशमा ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शिवपुरी, इचगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन समेत प्रधानमन्त्री ओलीले बैठकमा निर्देशन गरेका हुन्।
नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न मन्त्रालय र निकायहरूलाई निर्देशन दिएका हुन्।