काठमाडौं : काठमाडौं तीन दिनदेखि नै विश्वको सबैभन्दा प्रदूषित शहरको नम्बर १ सूचीमा रहँदै आएको छ ।
वायु प्रदुषणको तह मापन गर्ने स्वीट्जरल्याण्डको आइक्युएयर वेबसाइटका अनुसार काठमाडौंमा आज बिहान वायु प्रदूषणको मात्रा २६८ एक्युआई रहेको देखिन्छ । हिजो दिउँसो झण्डै साढे ३०० एक्युआई पुगेको थियो ।
सोहि तथ्याङ्कको आधारमा काठमाडौं आज पनि विश्वको सबैभन्दा बढी प्रदूषित शहर बनेको छ । देशका सबैजसो ठाँउमा अनियन्त्रित तरिकाले डढेलो लागेका कारण वातावरण प्रदूषित भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
हिजो दिउँसो प्रदूषणको मात्रा घातक अवस्थामा पुगेको थियो , भने आज बिहान केही घटेको हो । प्रदूषणको मात्रा २०० देखि ३०० सम्म एक्युआई पुग्नुलाई अत्यन्त अस्वस्थकर मानिन्छ । त्यसभन्दा माथिको अवस्थालाई घातक मानिन्छ ।
ठूलो वर्षा भएपछि मात्रै प्रदूषणको मात्रा नियन्त्रण भएर स्वस्थ हावा चल्ने विज्ञहरुले बताएका छन् ।
काठमाडौंपछि चीनको बेइजिङ सहर दोस्रो प्रदूषित र बंगलादेशको ढाका तेस्रो प्रदूषित शहरमा परेका छन् । ती दुई शहरको प्रदूषणको मात्रा १६५ र १६० एक्युआई रहेको छ । हिजो अत्यधिक प्रदूषित रहेका नेपालका अन्य शहरमा आज प्रदूषणको मात्रा घट्दै गरेको पाइएको छ ।