बुटवल- बुटवल धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा सोमबार विहान तीन जना संक्रमितको मृत्यु भयो।
रुपन्देही तिलोत्तमा नगरपालिका १ कि महिला, अर्घाखाँची मालारानी गाउँपालिकाकी महिला र कपिलबस्तु बाडगंगाका पूरुषले ज्यान गुमाए। तीनै जनामा स्वाशप्रश्वासमा समस्या, ज्वरो, निमोनिया जस्ता एकै प्रकारका लक्षण थिए। यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १ सय २४ पुगेको छ।
असोज अघि कोरोना संक्रमणबाट मृत्यु हुने दर तिब्र थियो । आजको जस्तै दिनमा दुई-तिन जना संक्रमितको मृत्यु भइरहेको खबर बाहिर आउँथ्यो। तर केही महिना यता कोरोना संक्रमणबाट मृत्यु हुने संख्या न्युन भइसकेको थियो। फाट्ट फूट्ट मात्र मृत्युका समाचार आउँथे ।
लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार धागो कारखानाको कोरोना अस्पतालमा गत माघ तेस्रो साता मृत्यु हुनेको संख्या १ सय १५ थियो। त्यसको एक महिना भन्दा बढी समयपछि फागुन २५ मा मात्र एक जना थपिए र १ सय १६ पुग्यो।
२५ दिनको अवधिमा ४ जना थपिएर चैत्र २० गते मृत्यु हुनेको संख्या १ सय २० पुग्यो । त्यसयता आइतबार एक जना र सोमबार एकैपटक ३ जनाको मृत्यु भएको हो।
पछिल्लो पटक कोरोनाको जोखिम फेरी बढेको छ । केही साता यता कोरोना संक्रमणको कारण भारतका विभिन्न ठाउँमा पुन लकडाउन गरिएको छ। नेपालमा पनि संक्रमण बढिरहेको छ। लुम्बिनी प्रदेशमा आइतबार मात्र ५१ जनामा संक्रमण पुष्टी भएको छ भने रुपन्देहीमा २१ जना थपिएका छन्। संक्रमण बढेपछि कोरोना अस्पतालमा आइसियुमा विरामी र मृत्यु हुनेको संख्या बढ्न थालेको छ।
कोरोना अस्पतालमा आइसियुमा भर्ना हुने विरामीको संख्या थपिएको छ। बुटवलको कोरोना विशेष अस्पतालको आइसियुमा चैत्र २० गते २ जना मात्र भर्ना भएका थिए। केही महिना यता कहिले सुन्य र बढिमा ३-४ जना मात्र भर्ना भएको अवस्था थियो ।
सोमबार विहान मात्र आइसियुमा ११ जना पुगेका थिए। ‘आइसियुमा पनि विरामी बढीरहेका छन्। ११ जना थिए ३ जनाको मृत्यु भएपछि अहिले ९ जना छन्।' लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले भने। यता लुम्बिनी प्रदेशका ४ वटा कोरोना अस्पतालमा चैत्र २० गते आइसियुमा रहनेको संख्या कुल १२ जना रहेकोमा अहिले ३२ जना पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरिले आइसियुमा विरामी बढ्न सक्ने भएकाले प्रदेशका चार वटै कोरोना अस्पतालहरु त्यसको लागि तयार रहेको बताए। उनले भारतमा संक्रमण बढिरहेकाले अब सबै निकाय चनाखो र सक्रिय हुनुपर्ने बेला आएको उल्लेख गरे।