काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर नस्किन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या डबल भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए ।
मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे ।
‘कोरोना संक्रमण काठमाडाैं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,' डा गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’
उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए ।
पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय तीन जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या दुई लाख ८९ हजार नौ सय १८ पुगेको छ ।
२४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै एक हजार ५१ जनामा सङ्क्रमण देखिएको छ । काठमाण्डौमा सात सय ८६, ललितपुरमा एक सय ८१ र भक्तपुरमा ८४ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पनि १० हजार नाघेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।