बुटवल- पछिल्लो समय कोरोना भाइसर संक्रमण फेरी फैलिएसँगै अस्पतालका आइसियुहरु पनि भरिएका छन्। लुम्बिनी प्रदेशका चारवटै कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि बेड पाउन सक्ने अवस्था छैन।
रुपन्देही र आसपासमा कोरोना संक्रमण बढेसँगै चैत्रको तेस्रो साताबाट बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रहेको आइसियु कक्षमा विरामीहरु बढ्न थाले। मंगलबार अस्पतालका आइसियुका सबै १३ बेड भरिए।
अघिल्लो दिनदेखी अस्पतालमा नयाँ विरामी राख्ने अवस्था नभएको लुम्बिनी प्रादेशीक अस्पतालका बुटवलका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । ‘अहिले १३ वटा बेड छ। सबै प्याक छ। नयाँ विरामी आए भने राख्ने ठाउँ नै छैन।’ उनले भने ‘वेड नपाउँदा भैरहवा पठाइएको छ। कोही काठमाडौँ रिफर हुनुभएको छ।’
बुटललमा बेड भरिदै गएपछि विरामीहरुलाई रिफर गरेर भैरहवामा पठाइएको थियो। भैरहवाको भिम अस्पतालमा ५ वेडको आइसियु कक्ष छ । २२ बेडको एचडियु कक्ष छ । बुटवलबाट रिफर भएका गम्भीर विरामी आइसियुमा र अन्य कतिपयलाई एचडियुमा भर्ना गरिएको थियो।
भैरहवाका आइसियु र एचडियुका बेड पनि बुधबार साँझ भरिएको भिम अस्पतालका कोरोना फोकल पर्सन डा. आरिफ हुसेनले बताए। ‘धेरै जना बुटवलबाटै रिफर भएर आउनुभएको छ। ऋहिले आइसियु र एचडियु सबै भरियो।’ उनले भने ‘आज विहानबाट ५ जनालाई फर्काइसकेका छौ, विरामी राख्ने ठाउँ नै छैन।’
बुटवल र भैरहवामा दुबैतिर बेड नपाएपछि कतिपयले हेलिकप्टर चार्टर गरेर विरामी काठमाडौँ पु¥याएका छन्। आर्थिक अवस्था कम्जोर भएका कतिपयले भगवान पुकार्नुपर्ने अवस्था छ।
उता बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा पनि आइसियु र एचडियुमा गरेर ३० जना छन्। त्यसबाहेक सामान्य बेड सहित कुल १ सय ४२ बेड रहेको छ। कोरोना संक्रमितले सबै वेड भरिएको भेरी अस्पतालका मेडिकल सुपरिटण्ट डा. प्रकास थापाले बताए। ‘एक हप्ता जति भयो भरिन थालेको । विस्तारै बेड संख्या बढाउँदै लगेर अहिले १ सय ४० बेड पु¥याएका छौं। सबै प्याक छ।’ उनले ‘अब बढाउन सक्ने अवस्था नै छैन।’ डा. थापाले सबै १ सय ४२ वटा वेडमै अक्सिजन पाइपलाइन जोडेको र विरामीको अवस्था अनुसार आइसियु र एचडियुु सेवा दिन सकिने बताए।
भेरी अस्पताल संक्रमितले भरिएपछि नयाँ विरामीलाई निकै समस्या परेको छ। ‘आउने सोध्ने क्रम चलिरहेको छ। वेड नभएपछि अवस्था गाह्रो भएको छ।’ डा.थापाले भने ‘कसै–कसैले आफ्नो हिसावले हेलिकप्टर चार्टर गरेर काठमाण्डौ लैजानुभएको छ। सबैले त्यो सक्नुभएको छैन।’
उता दाङको बेलझुण्डी कोरोना अस्पतालमा बुधबार साँझ सम्म २८ वटा बेडमा विरामी रहेका छन्।
संक्रमित भरिएर भयावह अवस्था आउँदा पनि प्रदेश सरकारकाे भूमिका देखिएकाे छैन। यस अघि प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य मामिला सम्बन्धी विषय हेर्ने गर्दथ्यो। मन्त्रिपरिषद विस्तारको क्रममा केही दिन अघि सामाजिक विकासबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अलग गरिएको छ।
आन्तरिक मामिला तथा कानून मान्त्रालयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिला गिरिले पाएका छनु। मन्त्री गिरिले संक्रमित बढ्दै गएपछि अस्पतालहरुमा बेडहरु थप्न लागेको जानकारी दिए । ‘धागो कारखानाको कोरोना अस्पतालमा अहिले ४० वेड छ । त्यहाँको अर्को भवन पनि खाली गरेर बेड संख्या थप्छौं।सबैमा अक्सिजनको व्यवस्था गर्छौं। ’ उनले भने ‘प्रदेशका चार वटै कोरोना अस्पतालमा २ सय बेड थप्दै छौं। आवश्यकता अनुसार आइसियु र एचडियु पनि थपिन्छ। त्यो काम हामी छिट्टै गर्छौ।’ त्यस बाहेक निजी अस्पतालहरुमा पनि संक्रमितको लागि ठाउँ बढाउने मन्त्री गिरिले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिले संक्रमण बढिरहेकाले सचेत हुनुपर्ने अवस्था आएको बताए। प्रदेश सरकारले सकभर लकडाउन नगर्ने र अवस्था प्रतिकुल भएमा अवस्था हेरेर विचार गर्ने उनको भनाइ छ।