बुटवल । कोरोना भाइरसका नयाँ प्रकारहरुले महामारीलाई लम्बेतान बनाइरहँदा मानिसहरुले प्रश्न गर्न थालेका छन्, कोभिड विरुद्धको खोप लगाएकालाई पनि संक्रमण भइरहेको छ भने हामीले किन लगाउनु ?
तर संक्रामक रोग विशेषज्ञहरु भन्छन्, ‘खोप लगाएको केही महिनासम्म रोग प्रतिरोधात्मक क्षमता केही खस्किएजस्तो भएपनि त्यसपछिका दिनहरुमा खोपले प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएको हुन्छ ।’
हामीहरु नयाँ प्रकारहरुबाट सुरक्षित हुन्छौं, उनीहरुको तर्क छ, अस्पतालमा भर्ना हुनुपर्ने र मृत्यु हुने जस्ता जोखिमहरु आउँदैनन् ।
यद्यपि प्रश्न निकै पेचिलो छ,‘नेपालमा फैलिएको भनिएको भारतीय ‘डबल म्युटेशन’ भेरियन्टविरुद्ध कोरोना खोपले काम गर्छ ?’
युनिभर्सिटी अफ क्यालिफर्निया, सान फ्रान्सिस्कोकी सार्वजनिक स्वास्थ्य विज्ञ मोनिका गान्धीका अनुसार खोपले उत्पादन गर्ने इम्युनिटिले हालसम्म विश्वमा थाहा हुन आएका सबै प्रकारका कोभिड ‘भेरियन्ट’ विरुद्ध काम गर्न सक्छ ।
खोपका क्लिनिकल ट्रायलहरु र खोप लगाएपछि देखिएको संक्रमणको ‘ट्रेण्ड’ हेर्दा खोपले संक्रमणलाई रोक्न सक्ने र संक्रमण भएमा अस्पताल भर्ना हुनुपर्ने जोखिमहरु निकै घटाएको देखिन्छ । खोप लगाएकाहरुको मृत्युदर नलगाएकाहरुको भन्दा निकै कम हुने अध्ययनले देखाएका छन् ।
यस्ता छन् प्रमाणः
खोप विकास गरेको कम्पनी फाइजरले पछिल्लोपटक ४४ हजार जना मानिसहरुलाई एउटा अध्ययनमा संलग्न गराएको थियो । कोरोनाको बी.१.३५१ (युके भेरियण्ट भनेर चिनिएको) सँग जुधिरहेका दक्षिण अफ्रिकाका संक्रमितहरुलाई समेत अध्ययनमा सामेल गरिएको थियो । अध्ययनको निष्कर्श थियो, गम्भीर रोग तथा मृत्यु हुन नदिन खोप सय प्रतिशत असरदार छ । ‘रियल वल्र्ड’ तथ्याङ्कले पनि युके भेरियण्ट विरुद्ध लगाइएका भ्याक्सिनहरु असरदार रहेको देखाएका छन् । कोरोनाका लक्षण देखापर्नबाट, अस्पतालमा भर्ना र मृत्यु हुनबाट रोक्न यो खोप ९७ प्रतिशत असरदार रहेको देखिएको छ ।
फाइजरमात्रै होइन, नेपाल र भारतमा लगाइएका एस्ट्राजेनेकाका कोभिशिल्ड र कोभ्याक्सिनहरुले नयाँ भेरियण्ट विरुद्ध आफ्नो प्रभावकारीता देखाइरहेका छन् । तीबाहेक मोर्डना, जोनसोन एण्ड जोनसोन खोपहरु पनि नयाँ भेरियण्टलाई रोक्न सक्ने बताइएको छ ।
यस्ता अध्ययनबाहेक अधिकांश जनतालाई खोप लगाइसकेका देशहरुका अस्पतालबाट आएका तथ्याङ्क हेर्ने हो भने खोपको प्रभावकारिताबारे अझै प्रष्ट हुन्छ । युके र इजरायलमा हेर्नेहो भने कोरोना संक्रमण दर र अस्पताल भर्नाहुने दर ज्यामितिय रुपमा घटिरहेको छ, भलै नयाँ भेरियण्टहरु त्यहाँ अझै विद्यमान छन् ।
बुझ्नै पर्ने कुरा के हो भने कोभिडबाट हुने गम्भीर रोग र मृत्युबाट बच्नु छ भने कोराना खोप अहिले अस्त्र बनेर आएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा काेरोना विरुद्धको खोप लगाउन लाइनमा उभिएकाहरु । महामारीका बीच पनि खोप अभियान जारी रहेको छ । लुम्बिनी प्रदेशमा हालसम्म लक्षित समूहमध्ये ७९.१ प्रतिशतले खोप लगाइसकेका छन् ।
तर भारतीय भेरियण्टमा नि ?
भारतमा देखिएको कोरोना भाइरस भेरियन्टबारे अहिले विश्वका वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । तर, अहिले कोरोना भाइरसको यो नयाँ प्रकार कति पर सम्म फैलिएको छ भन्ने थाहा भइसकेको छैन । भारतमा उत्पात मच्चाइरहेको संक्रमणको दोस्रो लहरको कारण ‘डबल म्युटेशन’ भएको भनिएको कोरोनाको नयाँ प्रकार नै हो त भन्नेमा धेरै अध्ययनहरु भइरहेका छन् ।
के हो भारतीय भेरियण्ट ?
भाइरसहरु जतिबेला पनि आफै म्युटेट(जीनमा उत्परिवर्तन) हुन सक्छन् । यस्ता धेरै म्युटेसनहरु त्यति महत्वका हुँदैनन्, केही म्युटेसनले त भाइरसलाई झनै कमजोर बनाइरहेका पनि हुन्छन् । तर, केही म्युटेसनहरु भने निकै संक्रामक हुन्छन् । खोपले पनि यी भाइरसविरुद्ध काम नगर्न सक्छन् । आधिकारीक रुपमा बी.१.६१७ भनेर चिनिएको भारतीय भेरियण्ट भनेर चिनिएको नयाँ म्युटेसन भारतमा गएको अक्टोबरमा पहिलोपटक देखिएको थियो ।
कति फैलिसकेको छ ?
कति फैलिसकेको छ भन्ने बारेमा थाहा भइसकेको छैन किनभने भारतमा नमूना परिक्षण निकै सुस्त भइरहेको छ । भारतको महाराष्ट्र प्रान्तमा जनवरी र मार्च बीचमा संकलन गरिएका ३६१ वटा नमूनामा २२० वटामा नयाँ भेरिण्ट पत्ता लागेको थियो । जीआइएसएआईडी ग्लोबल डाटावेसका अनुसार हालसम्म विश्वका २१ देशहरुमा यो भेरियन्ट देखिएको छ ।
नेपाल र भारतको दोस्रो लहर यसकै कारण हो ?
भारतमा दैनिक दुईलाख भन्दा धेरै कोरोना संक्रमितहरु थपिइरहेका छन् । कुनै कुनै दिनहरुमा तीनलाख पनि थपिएका छन् । पहिलो लहरमा एकै दिन सबैभन्दा धेरै थपिने संक्रमितको संख्या ९३ हजार थियो । मृत्यु दर पनि बढिरहेको छ ।
नेपालमा एकै सातामा १५ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण हुँदा ८१ जनाले ज्यान गुमाएका छन् ।
तर, यसको कारण भारतीय भेरियन्ट नै हो भनेर ठोकुवा गरिहाल्न सकिनेखालका अध्ययन भएका छैनन् ।
खोपले काम गर्छ ?
क्लिनिकल ट्रायलका आधारमा वैज्ञानिकहरुले यो भेरियन्ट विरुद्ध खोपले काम गर्छ यिा गर्दैन भनेर ठोकुवा गरिहाल्न सकेका छैनन् । भाइरोलोजिस्ट डा जेरेमी कामिलका अनुसार दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका भेरियण्टहरुसँग भारतीय भेरियन्ट मिल्दोजुल्दो छ । र, कोरोना विरुद्ध लड्नसक्ने एण्टिबडी– चाहे त्यो अघिल्लो पटकको संक्रमणबाट निर्माण भएको होस् या खोपबाट नै निर्माण भएको किन नहोस्–लाई यो म्युटेशनले छल्न सक्छ ।
‘युके भेरियन्टभन्दा भारतीय भेरियन्ट बढि संक्रामक छ भन्नेमा मलाई शंका छ, तर हामी आत्तिनु हुँदैन,’ डा कामिलले बीबीसीसँग भनेका छन् ।
तर, खोप निर्माण र यसले गर्ने कामको सिद्धान्तमा आधारित रहेर धेरै वैज्ञानिकहरुले खोपले अहिलेका जुनसुकै नयाँ भेरियन्टविरुद्ध काम गर्ने बताइरहेका छन् । वैज्ञानिकहरुले भारतीय भेरियन्टको संक्रमणबाट आउन सक्ने गम्भीर जटिलताहरु रोक्नका लागि खोप निकै प्रभावकारी हुने बताएका छन् ।
यद्यपि, केही भेरियन्टहरुले अहिलेका खोपहरुलाई अपरिहार्य जित्नेछन् भनेर प्राध्यापक गुप्ता र उनका सहकर्मीहरुद्वारा नेचरमा प्रकाशित एउटा शोध पत्रमा दावी गरिएको छ । परिणामतः खोपको स्वरुप पनि भाइरस अनुसार परिवर्तन गर्नुपर्ने हुनसक्छ ।
त्यैपनि, अहिले प्राप्त खोपहरुले भाइरसले निम्त्याउने रोगको जोखिम कम गर्न सक्छन् भन्नेमा विशेषज्ञहरुबीच मतभेद छैन ।
संक्रमण भइहालेमा पनि अहिलेका खोपहरुले मृत्यु हुनबाट जोगाउने अथवा अस्पताल भर्ना हुनबाट बचाउने डाक्टर कामिलको तर्क छ । उनले बीबीसीसँग भनेका छन्,‘कृपया तपाइले जुन खोप पाउनुहुन्छ त्यही लगाइहाल्नुहोस् । कुनै अर्को खोपको पर्खाइमा नबस्नुहोस् ।’
–बीबीसी र विभिन्न स्रोतहरुका आधारमा तयार पारिएको ।