काठमाडौं-वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा जारी गरिएको छ । सोमबार उपत्यकाका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीहरुले छुट्टाछुट्टै आदेश जारी गर्दै वैशाख २२ गतेसम्म अत्यवाश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाएका हुन् ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि सोमबार भएको तीनै जिल्लाका प्रजिअको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
तीनै जिल्लामा बिहीबारदेखि एक साता सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ । आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ ।
विवाह/व्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बढीमा १५ जना सम्म सरिक हुन पाइने छ ।
यी उल्लेखित बाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्था) का लागि सवारी साधनको प्रयोग गर्नु परेमा प्रजिअबाट जारी हुने अनुमति पास लिनु पर्ने छ ।