बुटवल–रुपन्देहीको सीमानाका बेलहियामा सोमबार भारतबाट आएका करीब ५ सय जनामध्ये शंका लागेका ३६ जनाको आरडीटी एन्टिजेन परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखियो । शंका लागेका बाहेकका अरु सामान्य ढंगले स्वदेश प्रवेश गरे ।
नेपाल–भारत सीमानाका बेलहियाबाट पछिल्लो १३ दिनमा करीब ६ हजार नेपाली स्वदेश फर्किएका छन् । वैशाख १ गतेदेखि १३ गतेसम्ममा स्वदेश फर्किने नेपालीहरुलाई अन्दाजका भरमा घरघर पठाइयो ।
उनीहरुको स्वास्थ्य परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टिनको व्यवस्था छैन । जसले गर्दा शहरदेखि गाउँसम्मै कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढ्दो छ ।
भारतका कतिपय शहरहरुमा लकडाउन हुन थालेपछि नेपालीहरु धमाधम फर्किन थालेको सीमानाकामा खटिएका इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेल बताउँछन् ।
‘हामीसँग पर्याप्त श्रोतसाधन छैन, जे जति छ त्यसैअनुसार व्यवस्थापन भइरहेको छ, उनले भने–भारतबाट आउनेहरुको संख्या बढ्दै गइरहेको छ, यस्तो भएमा थाम्न सकिदैन ।’
इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार दैनिक २ सय ५० देखि ४ सय जनासम्म बेलहिया सीमानाकामा आइपुग्छन् । यो संख्या बढ्दै जानसक्ने अनुमान इलाका प्रहरी कार्यालयको छ ।
संख्या बढ्दै गएपनि सावधानी र सुरक्षाका उपाय अपनाउने, हेल्थ डेक्स, होल्डिङ सेन्टर, क्वारेन्टिन, आइसोलेशनको उचित व्यवस्थापन छैन ।
नाकामा राखिएको हेल्थ डेस्कमा ज्वरो नाप्ने काम भइरहेको छ भने संक्रमणको शंका लागेकाहरूको मात्रै ऐन्टिजेन परीक्षण भइरहेको छ । त्यो पनि शनिबार हुँदैन । सीमित कर्मचारीको भरमा सीमामा आउनेहरुको स्वास्थ्य परीक्षणको काम जेनतेन चलिरहेको छ ।
मुख्य सीमानाकाबाहेकबाट अव्यवस्थित रुपमा प्रवेश उस्तै छ । भारतीय सीमावर्ती बजार पुगेर सामान खरिद गर्नेहरु मुख्य नाकाबाट रोकिएपनि साना नाका र चोरबाटो प्रयोग गरिरहेका छन् ।
कोरोना भाइरसको संक्रमणले भयावह अवस्था सिर्जना गर्नसक्ने पूर्वसंकेत हुँदै गर्दा पनि सरकारी संयन्त्र आफै अलमलमा छ । भारतमा कोरोना संक्रमण फैलिएपछि चैत १० गतेदेखि स्थापना गरिएको हेल्थ डेस्क जनशक्ति अभावले चाहेजसरी काम गर्न सकिरहेको छैन ।
जसका कारण भारतबाट आउने अधिकांशले सामान्य सोधपुछ र ज्वरो जाँचमै प्रवेश पाउँछन् । नाकामा आउनेहरुमध्ये तराई मुलका, धेरै सामान बोकेका, भारतमा रोजगारी गरेर फर्किएका जस्ता देखिनेलाई बढी सोधीखोजी गरिन्छ भने अरुलाई सामान्य सोधपुछ गरेर प्रवेश दिइन्छ ।
हेल्थ डेस्क स्थापनापछि १५ हजारभन्दा बढी नेपाली बेलहिया नाका हुँदै स्वदेश फर्किएका छन् । त्यसमध्ये डेढ सयको मात्रै एन्टिजेन जाँच भएको छ ।
१०० डिग्री भन्दा माथि ज्वरो आएका र सामान्य लक्षण देखिएकालाई मात्रै नजिकैको होल्डिङ सेन्टरमा एन्टिजेन जाँच गर्ने गरेको हेल्थ डेस्ककी कर्मचारी दिया शर्माले बताइन् । यसरी निष्प्रभावी परीक्षण र सावधानीबिनै सीमाबाट प्रवेश पाउँदा उनीहरुमार्फत गाउँशहरमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको छ ।
सीमामा सावधानी नअपनाए भयावह हुनसक्छ
बेलहिया नाकामा आउनेहरुमध्ये दैनिक ७–१० जनासम्ममा एन्टिजेन पोजेटिभ देखिएको छ । तीमध्ये अधिकांशलाई घरमा गएर क्वारेन्टिन बस्न, आइसोलेशन जान र सुरक्षित रहन सुझाव दिएर पठाइन्छ ।
केही होल्डिङ सेन्टरमै बस्ने भनेर भाग्ने गरेका छन् । सीमामा कडाईका साथ नियमन गर्न र सरकारले तोकेका सबैमापदण्डको पालना गर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । उनले सीमानाकाको चेकजाँचलाई अरु प्रभावकारी बनाउने बताए ।
सीमामा कडाईका साथसाथै संक्रमितलाई उचित व्यवस्थापन नगर्ने हो भने अवस्था भयावह हुने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । सीमामा कडाईका साथ नियमन र जिल्लाभित्रको आवतजावतलाई रोक्न नसके कोरोना भाइरसको संक्रमण अनियन्त्रित हुने उनले बताए ।
बढ्दो छ संक्रमण
रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ । सोमबार २ सय ६३ जना थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको हो । जसमध्ये सबैभन्दा धेरै बुटवलमा छन् । रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ ।
निधेषाज्ञाको तयारी
संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा निषेधाज्ञाको तयारी गरेको छ । दैनिक संक्रमित दर र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले निषेधाज्ञाको तयारी गरेको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मंगलबार स्थानीय तहका प्रमुखहरु, व्यवसायी र सञ्चारकर्मीहरुसँगको छलफलपछि के गर्ने भन्ने निर्णय गर्ने जानकारी दिए । सरकारले पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सयभन्दा धेरै सक्रिय संक्रमित भएमा निधेषाज्ञा लगाउनसक्ने अधिकार दिएको छ ।