बुटवल-रुपन्देही कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ। रुपन्देहीमा पछिल्लो चार दिनमा मात्र ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै ठोस कदम नचाल्दा र सर्वसाधरणको लापरवाहीका कारण संक्रमण दिनहुँ बढ्दै गएको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रबार २ सय २७ जना, शनिबार ३ सय एक, आइतबार २ सय ४ जना र सोमबार २ सय ६३ जनामा संक्रमण देखिएको छ।
सोमबार ४ सय ७६ जनाको कोरोना संक्रमण परिक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।
जिल्लामा गाउँ क्षेत्रभन्दा शहरी क्षेत्रमा संक्रमणको ग्राफ बढ्दो अवस्थामा छ। रुपन्देहीको शहरी क्षेत्र बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका (भैरहवा) र तिलोत्तमा नगरपालिकामा संक्रमण बढ्दै गएको छ।
निषेधाज्ञाको सिफारिश
रुपन्देहीमा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिश गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिश गर्ने निर्णय भएको हो।
बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए। यसको औपचारिक निर्णय भने बुधबार हुनेछ। उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालेको उनले बताए।
निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ।
जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन्। त्यसै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ।