काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन गरेको छ । मन्त्रालयले यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन गरेको छ ।
मन्त्रालयले मंगलबार अस्पतालहरुलाई पत्र लेख्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकाहरुलाई पनि बोलाउन निर्देशन दिएको हो । त्यस्तै कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण गरी सेवा दिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न, थप जनशक्ति चाहिए ६ महिनाका लागि करारमा लिन पनि निर्देशन दिएको छ ।
मन्त्रालयले आकस्मिक उपचार दिने तर बहिरंग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न पनि निर्देशन दिएको छ । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले अस्पतालहरुलाई पठाएको पत्रमा सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्न पनि भनिएको छ ।