काठमाडाैँ- सरकारले अहिलेको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि कोरोना संक्रमण बढेको भन्दै सम्बेदनशिल हुन अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपिल जारी गरि संक्रमण रोकथामको लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन भनेको छ।
‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शैया उपलध गराउन नसकिने भई सकेको छ।’ मन्त्रालयद्वारा सर्वसाधारणमा जारी अपिलमा भनिएको छ ‘त्यसैले दाजुभाइ दिदीबहिनीहरुमा सम्वेदनशिल हुन हार्दिक अनुरोध छ।’ संक्रमण रोकथामको लागि माक्स लगाउने, भौतिक दुरी कायम गर्ने र वेलाबेलामा साबुन पानीले हात धुने अहिलेको उत्तम उपाय भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।
मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला भएको र यहाँ संक्रमण डरलाग्दो तरिकाले फैलिएको मन्त्रालयद्वारा जारी अपिलमा उल्लेख छ ।
मन्त्रालयले कुनै पनि मार्गबाट देश–विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम नगर्न र सार्वजनिक स्थानहरुमा भिडभाड गर्ने काम बन्द गर्न अपिल गरेको छ।
