भैरहवा - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता दिपक बोहराले थेग्न नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भइसकेको सरकारको विज्ञप्ती गैरजिम्मेवारीको पराकष्ठा रहेको बताएका छन ।
‘यस्तो अवस्थामा सरकार जनताप्रतिको जवाफदेहिताबाट पन्छिन खोजेको प्रष्ट छ, यो सरकारको गैर जिम्मेवारीको पराकष्ठ हो’ पूर्व स्वास्थ्य मन्त्री समेत रहेका बोहराले विज्ञप्ति जारी गर्दै भने । तत्काल जनताको स्वास्थ्य सुरक्षा प्रति संवेदनशील भई उचित व्यवस्थाका लागि सरकारसँग उनले आग्रह गरे ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको थियो । नेता बोहराले अहिलेको अवस्था भन्दा भयावह हुने अवस्थालाई आकलन गरेर तत्काल स्थानीय तहको सहयोगमा ठूला भवन तथा सभा भवनहरुलाई अक्सिजन सहितको बेड थपेर आइशोलेशन सेन्टर बनाउने, अक्सिजनको उत्पादकलाई प्रोत्साहन गर्ने, चिकित्साकर्मीहरुलाई प्रोत्साहन भत्ता वृद्धि गरी पूर्ण रुपमा लगाउने। जनचेतना वृद्धि गराउने, अहिलेको अवस्थामा अन्य कामलाई थाती राखेर भए पनि कोरोना संक्रमितको उपचार र नियन्त्रणको लागि प्रयाप्त बजेटको व्यवस्थापन गरी भयावह स्थितीमा पनि नागरिकलाई सरकार रहेको महसुस गराउन उनले आग्रह गरेका छन ।
'सरकारको लागि जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ, सम्पूर्ण कोरोना संक्रमितको शिघ्र स्वास्थ्य लाभको कामनाका साथै सरकारको मात्र भर नपरी स्वयम आफै पनि सचेत रह्न सबैमा आग्रह गर्दछु ।' बोहोराद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।