भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकारले कोभिड महामारीको तेस्रो लहर अवश्यम्भावी भएको बताएका छन्। स्वास्थ्य मन्त्रायलको ब्रीफिङमा बोल्दै के विजयराघवनले कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या यति "उग्र" होला भन्ने विज्ञहरूले पूर्वानुमान गर्न नसकेको स्वीकार गरे।
"भाइरस ठूलो मात्रामा प्रसारित भएकाले तेस्रो चरण अवश्यम्भावी छ," उनले भने।
"तर तेस्रो चरण कुन समयमा हुन्छ भन्ने स्पष्ट छैन। ... हामीले नयाँ लहरहरूका लागि तयारी गर्नुपर्छ।"
अहिले चलिरहेको प्रकोपका कारण भारतको स्वास्थ्यप्रणाली अस्तव्यस्त भइसकेको छ।
अस्पतालहरूले र मसानघाटहरूले चाप थेग्न सकिरहेका छैनन्। धेरै ठाउँमा मेडिकल अक्सिजनको अभाव देखिएको छ।
विभिन्न राज्यहरूले स्थानीय तहमा निषेधाज्ञा र लकडाउन लगाएका छन्।
देशको अर्थतन्त्र प्रभावित हुने भयका कारण सङ्घीय सरकार देशभरि लकडाउन लगाउन अनिच्छुक देखिएको छ।
डबल म्यूटन्ट भेरिअन्ट कहाँ फेला पर्यो?
आठ राज्यबाट सङ्कलित नमुनामध्ये झन्डै १३,००० वटाको जीन सीक्वन्सिङ गर्दा झन्डै ३,५०० वटाभन्दा केही बढीमा कोरोनाभाइरसका उत्परिवर्तित भेरिअन्टहरू भएको पत्ता लाग्यो।
एक महिनाभन्दा अघिदेखि दिल्लीले अहिले सङ्क्रमण बढ्नुमा बी.१.६१७ सङ्केत दिइएको दोहोरो उत्परिवर्तन भएको प्रकारको कुनै सम्बन्ध नभएको दाबी गरिरहेको थियो।
अधिकारीहरूले अहिले कोरोनाभाइरसको प्रकोप बढ्नुमा यूके, अफ्रिकी र ब्रजिलियन भेरिअन्टको सम्बन्ध भएको कुरा पनि स्वीकारेका छैनन्।
यसअघि भारतले भाइरसमा हुने उत्परिवर्तनबारे धेरै ढिलो ध्यान दिएको थियो। भाइरसविज्ञका अनुसार फेब्रुअरी महिनाको मध्यतिर मात्रै भाइरसको आनुवंशिक संरचना सीक्वन्सिङ गरेर अध्ययन गर्न थालियो।
भारतमा अहिले सङ्कलित नमुनामध्ये एक प्रतिशतजतिको मात्र सीक्वन्सिङ गरिन्छ।
"यूकेले महामारी उत्कर्षमा पुग्दा ५-६ प्रतिशत नमुनाको सीक्वन्सिङ गर्थ्यो। तर त्यो क्षमता अहोरात्र बनाउन सकिँदैन," उनले भने।
सङ्घीय सरकारले कोरोनाभाइरसको उत्परिवर्तनसँग अहिले सङ्क्रमण फैलिनुको सम्बन्ध भए पनि त्यो "पूर्ण रूपमा प्रमाणित" हुन बाँकी भएको बताएको छ।
"यसको एपिडिमिअलजिकल र क्लिनिकल सम्बन्ध पूर्णतः स्थापित भइसकेको छैन... सहसम्बन्धबिना हामी सङ्ख्या बढ्नुसँग प्रत्यक्ष सम्बन्ध प्रमाणित गर्न सक्दैनौँ," न्याश्नल सेन्टर फोर डिजीज कन्ट्रोलका सुजीत सिंहले भने।
"तर हामीले राज्यहरूलाई जनस्वास्थ्यसम्बन्धी प्रतिकार्य — परीक्षण, तत्काल आइसोलेशन, भिडभाड नियन्त्रण र खोप बढाउन — बढाउन सुझाव दिएका छौँ।"
उत्तर प्रदेश, हरियाणा, पञ्जाब, तमिलनाडु र कर्णाटकसहित केही राज्यमा बुधवार अहिलेसम्मकै सर्वाधिक दैनिक मृत्यु भयो।
महामारी फैलिएदेखि धेरै प्रभावित महाराष्ट्र राज्यमा ९२० जनाको कोभिड-१९ का कारण २४ घण्टाको अवधिमा मृत्यु भएको तथ्याङ्क छ।
तर विज्ञहरूले परीक्षणको सङ्ख्या घटेको तथा मृत्युबारे पूर्ण विवरण प्राप्त नभएकाले आधिकारिकभन्दा वास्तविक सङ्ख्या धेरै बढी हुन सक्ने औँल्याएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले आफ्नो साप्ताहिक प्रतिवेदनमा गत साता भारतमा फेला परेका सङ्क्रमितको सङ्ख्या विश्वभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्याको झन्डै आधा र मृतकको सङ्ख्या एकचौथाइ भएको उल्लेख गरेको छ। बीबीसीबाट