बुटवल-पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७४५ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीका विभिन्न प्रयोगशालामा गरिएको ११८३ नमुना परीक्षणमा ७४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ। २४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरमा ३२८ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा १५० जना, सिद्धार्थनगरमा ९७ जना, सैनामैनामा ५६ जना, देवदहमा ३१ जना र ओमसतियामा २३ जना संक्रमित थपिएका छन् । त्यसैगरि सुद्धोधनमा १८ जना, सियारीमा १३ जना, मायादेबीमा १२ जना, कञ्चनमा ७ जना, गैडहवा र रोहिणीमा ४-४ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक नगरपालिकामा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा २४२ जनाको मृत्यु भईसकेको छ। आज २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
निषेधाज्ञामा कडाई
निषेधाज्ञा जारी गरेको ८ दिन पार गर्दा पनि संक्रमित थपिने दर र मृत्यु दरमा कमी नआएपछि स्थानीय प्रशासनले आजबाट निषेधाज्ञालाई थप कडा पार्ने भएको छ। भैरहवामा बसेको डीसीसीएमसी रुपन्देहीको बैठकको सिफारिसका आधारमा निषेधालाई अझै कडा बनाउने निर्णय गरिएको हो ।
आजै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको थप कडाई सम्बन्धी सुचनामा निर्माण लगायतका गैर खाद्य उद्योगहरु पूर्णरुपमा बन्द गर्ने, बैंक बित्तीय संस्थामा एक जना प्राविधिक मात्र राखेर अन्य काम बन्द गर्ने तथा तरकारीजन्य सामग्रीहरु स्थानीय तहको समन्वयमा कृषि एम्बुलेन्स मार्फत बिक्रिवितरण गर्ने जस्ता आदेशहरु उल्लेख गरिएको छ।